• २५ माघ २०८१, शुक्रबार

उज्यालो सहर बनाउने अभियान

blog

हाइमास्ट लाइट जडानका लागि शिलान्यास गरिँदै

बुटवल समाचारदाता

बुटवल, माघ २५ गते । उज्यालो बुटवल अभियान अन्तर्गत बुटवल उपमहानगरपालिकाले थप ३१ स्थानमा हाइमाक्स लाइट जडान सुरु गरेको छ । 

यसअघि बुटवलमा ‘उज्यालो बुटवल सहर’ को नारा दिएर विभिन्न स्थानमा हाइमाक्स लाइट जडान गरेको उपमहानगरले बुधबारदेखि थप ३१ स्थानमा हाइमाक्स लाइट जडान सुरु गरेको हो ।

बुटवलको ट्राफिक चोकमा जडान गर्ने हाइमाक्स लाइटको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।

त्यस अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई उज्यालो सहर, हरियालीयुक्त सहर र सफा सहरका रूपमा स्थापित गर्ने काम अभियानकै रूपमा अघि बढेको बताउनुभयो ।

उहाँले बुटवललाई उज्यालो सहर बनाउन थप हाइमाक्स लाइट जडान गर्न लागिएको बताउनुभयो । प्रमुख पाण्डेले बुटवलका १२५ स्थानमा सिसिटिभी जडान गरिएको बताउनुभयो । 

उहाँले योगीकुटी, राजमार्ग चौराहा अस्पताल लाइन र गोलपार्कमा गरी चार स्थानमा ट्राफिक लाइट जडान गर्ने प्रक्रिया केही दिनभित्रैमा सुरु हुनेसमेत जानकारी दिनुभयो । 

हाइमाक्स लाइट जडान बुटवल उपमहानगरपालिकाको एक करोड ३० लाख र सङ्घीय सरकारबाट समपूरक अनुदानबाट प्राप्त तीन करोड ५१ लाख गरी करिब साढे चार करोड रकमबाट जडान गर्न थालिएको हो । 

हाइमाक्स लाइट जडानको ठेक्का जेठ मसान्तभित्रमा सक्ने गरी त्रिसन्धा सेफ स्टिल्स काठमाडौँले चार करोड ४३ लाखमा लिएको छ । दुई महिनाअघि मात्रै बुटवलका २३ वटा चोक तथा चौराहामा १० मिटर, १२.५ मिटर र १६ मिटरका हाइमाक्स लाइट जडान गरिएका थिए । 

बुटवल नगर उपपमुख सावित्रादेवी अर्यालले बुटवलका मुख्य सडक, चोक, चौराहा र सार्वजनिक स्थलमा रातिमा समेत सुरक्षित हुने गरी उच्च क्षमताका लाइट जडान गरेको बताउँदै अझै १७ स्थानमा जडान गरिने जानकारी दिनुभयो ।

बुटवलका योगीकुटी चोक, कालिका चोक, बसपार्क, अस्पताल लाइन, पुरानो बसपार्क, लक्ष्मीनगर गेट, बिटिआई चोक, राजमार्ग चौराहा, जितगढी किल्ला र गोलपार्कमा १६ मिटरका १२ वटा लाइट जडान भइसकेका छन् । त्यसै गरी बिपी चोक, जेसिज चोक, तीनकुने चोक, टक्सार चोक, देवीनगर चौपारी चोक, देवसिद्ध चोक, वधशाला क्षेत्रमा साढे १२ मिटरका सात वटा लाइट जडान भएका छन् ।