गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २५ गते । गायक रामकृष्ण ढकालले भारतकी प्रसिद्ध गायिका लता मङ्गेशकरको तेस्रो वार्षिक पुण्यतिथिको अवसर पारेर काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गर्नुभएको छ । ढकालले ‘लता मङ्गेशकर लब इन मेमोरी’ को आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा ढकाल र मङ्गेशकरको युगल गायनमा रहेको बहुचर्चित गीत ‘बाँचुञ्जेलीलाई’ को लताको एकल स्वरमा सार्वजनिक गरिएको थियो । गायक ढकालका अभिभावक गोपाल कर्माचार्य, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ गीतकार राजेन्द्र थापा, नेपाल साङ्गीतिक सङ्घका अध्यक्ष मिलन मोक्तान, व्यवसायी रुद्र शर्मा, वरिष्ठ सङ्गीतकार राजु सिंह, वरिष्ठ अभिनेता कृष्ण मल्ललगायतको उपस्थिति थियो ।
कार्यक्रममा सुनील हरिजन, साहिल महर्जन, सुषमा राजभण्डारी, मदन श्रेष्ठ, रमेश कुँवर, सुजनवीर वज्राचार्य, विनोद गिरीलगायतका कलाकारले मङ्गेशकरको चित्र बनाउनुभएको थियो ।