चरीकोट समाचारदाता
चरीकोट, माघ २५ गते । दोलखाको मेलुङ गाउँपालिकाका कृषक व्यावसायिक गाईपालनतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले कृषकलाई व्यावसायिक बनाउन कृषि र पशुपालनमा विभिन्न सहयोग तथा अनुदानका कार्यक्रम ल्याएसँगै कृषक व्यावसायिक गाईपालनतर्फ आकर्षित भएका हुन् ।
गाउँपालिकाले कृषकलाई गाईपालनमा व्यावसायिक बनाउने उद्देश्यले उन्नत जातको गाईपालनलाई प्राथमिकता दिँदै आएको छ । उन्नत जातको जर्सीगाईपालनकै कारण यहाँका कृषकको आर्थिक अवस्था र जीवनशैलीमा सुधार भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले यस आर्थिक वर्षमा पशु, कृषि क्षेत्रको विकासका लागि एक करोड ५० लाख बजेट विनियोजन गरिएको मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तामाङले जानकारी दिनुभयो । मेलुङ गाउँपालिका कृषि, फलफूल र पशुपालनका लागि उपयुक्त स्थान रहेको अध्यक्ष तामाङले बताउनुभयो ।
मेलुङ–२ का कृषक रामहरि अधिकारीले जर्सीगाईले राम्रो मात्रामा दुध उत्पादन गर्ने भएकाले यसको माग उच्च रहेको बताउनुभयो । जर्सीगाईले अहिले प्रतिदिन १९ लिटरसम्म दुध दिन थालेको अधिकारीले बताउनुभयो । यसको दुध गुणस्तरीय हुने र नजिकै दुग्ध सङ्कलन केन्द्र भएकाले यो व्यवसाय लाभदायक बनेको उहाँको भनाइ छ । बर्सौंदेखि भैँसी पाल्दै आएका उहाँले भैँसीले दैनिक सात लिटरसम्म दुध दिने गरेको बताउनुभयो ।
त्यस्तै अर्का किसान मेलुङ–२, ठुलीबेँसीका वीरबहादुर तामाङले बर्सौंदेखि गाईपालन गर्दै आउनुभएको छ । उहाँले सो ठाउँमा गाईपालन गरेको सात वर्ष बितिसकेको छ । उहाँको गोठमा अहिले छ वटा दुध दिने गाई छन् । यस वर्ष गाउँपालिकाले जर्सीगाई खरिदमा ५० हजारसम्म अनुदान दिने भएपछि उहाँले गाई थप गर्नुभएको छ ।
गाउँभरिका किसानलाई पायक पर्ने गरी ढलेबर, कल्लेरी, उपल्लोगाउँमा दुध सङ्कलन केन्द्र राखिएको वडा नम्बर २ का वडाध्यक्ष रामकृष्ण भण्डारीले जानकारी दिनुभयो । वडामा ‘एक घर एक गाई’ अभियान सञ्चालन गरी दुधमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको वडाध्यक्ष भण्डारीले बताउनुभयो । अहिले यस वडामा मात्र ३४ वटा गाई पुर्याउन १७ लाख बजेट विनियोजन गरिएको छ ।
पालिकाकै पहलमा गाउँपालिकामा अहिलेसम्म ३४ घरपरिवारलाई गाई वितरण गरिएको छ । यस अभियानमा हेफर परियोजनाले कृषकलाई प्राविधिक सहयोग, तालिम, समूह निर्माण र परामर्श सेवा दिँदै आएको छ । गाउँपालिकाले अनुदानको व्यवस्था गरेपछि सोही वडाका जितबहादुर न्यौपानेले थप गाई ल्याउनुभएको छ ।
गाउँपालिकाले कृषकलाई पायक पर्ने गरी दुध सङ्कलन केन्द्र राखिएकाले सहज बनाएको छ । सङ्कलन केन्द्रमा दुध पुर्याउन यातायातको सुविधा रहेको र समयमै रकम भुक्तानी हुने हुँदा कृषक थप प्रोत्साहित भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले गाईपालनमा प्रोत्साहन गर्न अनुदान कार्यक्रम सञ्चालन गर्नुका साथै गाई किन्न र घाँस उत्पादन गर्न आर्थिक सहयोग प्रदान गर्दै आएको छ । यसले कृषकलाई आर्थिक रूपमा सक्षम बनाउँदै गाईपालनलाई अझ व्यावसायिक बनाउन मद्दत पुगेको पालिकाकी उपाध्यक्ष गायत्री आचार्यले बताउनुभयो । गाउँपालिकाले गाईपालनमा आर्थिक प्राविधिक सहयोग गरेकै कारण कृषकले गाईपालनसँगै घाँस खेतीलाई पनि प्राथमिकता दिएको आचार्यले बताउनुभयो । कृषकले घरछेउमा नेपियर, डँडेलो जस्ता उन्नत घाँस लगाएका छन् । यसले गाईको पोषण आवश्यकतामा टेवा पुर्याएको छ र दुध उत्पादन बढाएको छ ।