• २४ माघ २०८१, बिहिबार

भीम रावलले धनगढीमा जागरण भेलाको आयोजना गर्ने

blog

भीम रावल धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै । तस्बिर : भावना जोशी

भावना जोशी
अत्तरिया, माघ २४ गते ।
नेकपा (एमाले)बाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लाग्नु भएका पूर्व उपप्रधानमन्त्री भीम रावलले यही माघ २६ गते धनगढीमा जागरण भेलाको आयोजना गर्ने जानकारी दिनुभएको छ ।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले कञ्चनपुर र कैलाली केन्द्रित जागरण भेला आयोजना गर्ने बताउनुभएको हो ।

मातृभूमि जागरण अभियानलाई सशक्त वैकल्पिक शक्तिको रूपमा निर्माणको उद्घोष गर्दै उहाँले भेलामा सबै दलका समर्थक तथा नेता कार्यकर्तालाई उपस्थितिका लागि आग्रह गर्नुभयो ।

रावलले भन्नुभयो, “कैलाली र कञ्चनपुरको जागरण भेला शनिबार गर्दै छौं । भेलामा जुनसुकै दलमा आबद्ध रहेका देशभक्त नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक आह्वान गर्दछु ।”

यसैबिच नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुभयो । उहाँले स्थिर सरकार र संविधान संशोधनका लागि नेपाल कांग्रेस र नेकपा (एमाले) मिलेको भनी ती दलहरूले जनतासँग झुटो बोलेको समेत टिप्पणी गर्नुभयो ।