• २४ माघ २०८१, बिहिबार

अवैध उत्खनन रोक्न मध्यरातमा मुख्यमन्त्री खोलामा

blog

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न मुख्यमन्त्री सिंह मध्यरातमा कमला खोलाको अनुगमन गर्दै । तस्बिरः विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, माघ २४ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले बुधबार मध्यरातमा कमला खोलाको अनुगमन गर्नुभएको छ । धनुषा र सिरहाको सीमाक्षेत्रमा पर्ने कमला नदीमा रातको समयमा नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको जनगुनासो बढेपछि त्यसलाई रोक्न उहाँ मध्यरातमा अनुगमन गर्नुभएको हो । 

अवैध उत्खनन् नियन्त्रण गर्न प्रदेश सरकार प्रमुखबाट अनुगमन भएको यो पहिलो पटक हो । कमला नदीमा भइरहेको अवैध उत्खनन्बारे गोरखापत्र अनलाइन र द राइजिङ् नेपालमा ‘रोकिएन कमला नदीमा अवैध उत्खनन’ शीर्षकमा समाचार प्रकाशन भएको थियो । 

मुख्यमन्त्री सिंहले नदीजन्य पदार्थको अवैध तथा अनधिकृत दोहनले पारिरिथतिकीय प्रणाली र जैविक विविधतामा प्रतिकूल असर परिरहेकाले यसलाई रोक्नुपर्ने ठानेर अनुगमन गरिएको बताउनुभयो । अवैध उत्खनन्ले मधेशको उर्वरभूमि मरुभूमिमा परिणत भइरहेको र सरकारलाई प्राप्त हुनुपर्ने राजस्व समेत गुमिरहेको उहाँले जानकारी दिनुभयो । 

राष्ट्रिय वनक्षेत्र र सामुदायिक वन क्षेत्रमा रहेका खोलाबाट अवैध तथा अनुचित तवरमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् भइरहेको तथा अन्य ठाउँमा अनाधिकृत रूपले नदीजन्य पदार्थको दोहन रोक्न धनुषा प्रहरीका प्रमुख एवं प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीसहितको प्रहरी टोली राति १२ बजेदेखि ३ बजेसम्म त्यस क्षेत्रमा अनुगमन गर्नुभयो ।  

धनुषा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहले मुख्यमन्त्री सिंहको अगुवाइमा भएको अनुगमनको क्रममा छापामारी गरिएको बताउनुभयो । छापामारी क्रममा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको १३ वटा ट्रयाक्टर, दुई वटा बकेट र पाँच जना चालकलाई नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । 

मुख्यमन्त्री सिंहसहितको टोली धनुषाको गणेशमान चारनाथ नगरपालिका –७, पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ वनक्षेत्रभित्रको खोलामा मध्यरात पुग्दा दोहन गरिरहेका स्काइभेटर, टयाक्टर र बकेट तथा त्यसमा संलग्न व्यक्तिहरू अँध्यारोको लाभ उठाउँदै फरार भएका छन् ।  

यद्यपि खोलाको उत्खनन स्थलबाट  दक्षिणतर्फ आउँदै गरेका ट्याकटर, बकेट र चालक नियन्त्रणमा परेका छन् । राष्ट्रिय वनक्षेत्र र सामुदायिक वनक्षेत्रस्थित खोला तथा टेन्डर नलागेका खोलाबाट राति १० बजेदेखि बिहान ४ बजेसम्म ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् हुने गरेको जानकारी मुख्यमन्त्री सिंहलाई प्राप्त भएको थियो ।

डिभिजन वन कार्यालय धनुषासँग सशस्त्र जनशक्ति अभाव, प्रहरी सुरक्षाकर्मीको सहयोगमा कमी आदि कारणले ठुलो स्तरमा नियन्त्रणात्मक अभियान सञ्चालन नहुँदा स्काभेटर, बकेट आदि उपकरण प्रयोग गरी सयौंको सङ्ख्यामा ट्याक्टरबाट नदीजन्य पदार्थको अवैध ओसारपसार हुने गरेको बताइएको छ । 

मुख्यमन्त्रीको अनुगमन टोलीमा सम्मिलित धनुषाका प्रहरी प्रमुख एवम् उपरीक्षक भुवनेश्वर तिवारीले प्राकृतिक साधनस्रोतको अनधिकृत दोहन गरेर गलत तरिकाले पैसा कमाउने प्रवृत्ति बढेको भन्दै यसविरुद्ध कडाइका साथ प्रहरी परिचालन हुने बताउनुभयो । उहाँले यस विषयमा आफूसमेत सदस्य रहेको जिल्ला अनुगमन समितिको बैठक बस्ने र अवैध तथा अनधिकृत दोहन रोक्न आवश्यक थप कदम चालिने उल्लेख गर्नुभयो ।