• २४ माघ २०८१, बिहिबार

बिमाबाट मजदुरका परिवारले पाए सहयोग

blog

बिमाबापतको रकमको चेक मृतकका परिवारलाई हस्तान्तरण गरिँदै । तस्बिरः गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, माघ २४ गते । नेपालगन्ज उपमहानगरपालिका–१ मा सुरु गरिएको मजदुर लक्षित बिमा कार्यक्रममा सहभागी भई बिमा गराएका व्यक्तिको निधन भएपछि आश्रित परिवारलाई बिमा रकम हस्तान्तरण गरिएको छ । 

असङ्गठित रूपमा दैनिक ज्याला र मजदुरी गरेर घर खर्च चलाउँदै आएका अभिभावकको निधन भएपछि प्राप्त बिमा रकमले परिवारलाई ठुलो सहयोग पुगेको पीडित परिवारका सदस्यहरूले जनाएका छन् । 

वडाध्यक्ष प्रमोद रिजालका अनुसार ३११ जना वडावासी मजदुरहरूको म्यादी जीवन बिमा गरिएकोमा दैनिक मजदुरी गर्ने हनुमान बर्मा र अरूको घरमा दैनिक काम गर्ने मुन्नी पासीको केही दिनअघि निधन भए पनि प्रतिपरिवार बिमाबापत एक लाख र क्रिया खर्चबापत २५ हजार रुपियाँ गरी एक लाख २५ हजार रुपियाँ पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । 

नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल र नेकपा (एमाले) बाँकेका अध्यक्ष निरक गुरुङले पीडित परिवारलाई बिमाबापत रकमको चेक हस्तान्तरण गर्नुभयो । 

वडाध्यक्ष रिजालले भन्नुभयो, ‘वडामा मजदुर, लघु उद्यम तथा अन्य स–साना व्यवसायमा जोडिएका विपन्न समुदायका व्यक्तिलाई लक्षित गरी निःशुल्क जीवन बिमा सुरु गरिएको छ ।’ 

नेपालगन्ज उपमहानगरपालिका वडा १ को कार्यालयले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरी म्यादी लघुजीवन बिमा सुरु गरेको छ । वडाध्यक्ष प्रमोद रिजालले विपन्न समुदायका व्यक्तिहरू आर्थिक अभावमा बिमाबाट टाढा रहेको अवस्थामा उनीहरूलाई लक्षित गरी कार्यक्रम सुरु गरिएको बताउनुभयो । 

कार्यक्रम अन्तर्गत १८ देखि ५५ वर्ष उमेर समूहका व्यक्तिको बिमा गरिएको छ । 

प्रिमियम बापत १८ वर्षीय व्यक्तिको २७९ र ५५ वर्षीय व्यक्तिका लागि एक हजार १३५ रुपियाँ बुझाउनुपर्ने हुन्छ । यो रकम वडा कार्यालयले तिरिदिने गरेको छ । यस प्रिमियममा एक लाखको बिमासँग थप एक लाखको दुर्घटना बिमा समेत हुन्छ । दुर्घटनाबापत औषधी उपचारको १० प्रतिशत र मृत्यु भएमा २५ हजार क्रिया खर्च समेत प्राप्त हुने इन्स्योरेन्सले जनाएको छ ।