रामपुर (पाल्पा), माघ २४ गते । कला, संस्कृति मानव जीवनका सिकाइ भएकाले यहाँ लोक संस्कृति संरक्षण गर्न थालिएको छ । कला, संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले रामपुर महोत्सव तथा व्यापार मेलाको आयोजना गरी लुकेर रहेका प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गरिएको हो ।
व्यक्तिभित्र लुकेर रहेका कला, संस्कृतिलाई उजार गर्न रामपुर मेलाले एउटा अवसर सिर्जना गरेको स्थानीय बताउँछन् । यही माघ १५ गतेदेखि सुरु भई २७ गतेसम्म सञ्चालन हुने ‘चौँथो रामपुर महोत्सव तथा व्यापार मेला’मा लोकदोहोरी प्रतियोगितामार्फत लुकेर रहेका प्रतिभालाई अवसर प्रदान गरिएको हो ।
लोकदोहोरी प्रतियोगिताको उपाधि नमस्ते होटल पाल्पाको समूहले हात पारेको छ । दोहोरीको अन्तिम प्रतिस्पर्धामा राष्ट्रिय लोक तथा गीत प्रतिष्ठान पाल्पालाई पछि पार्दै नमस्ते होटेलले उपाधि जित्दै नगद रु ५१ हजार एक सय ११ र प्रमाणपत्र प्राप्त गरेको छ ।
नमस्ते होटलको तर्फबाट दिपेन्द्र पौडेल र सीता भण्डारीले प्रतियोगितामा सहभागी भई प्रतिस्पर्धामार्फत उपाधि हात पार्नुभएको दोहोरी गीत प्रतियोगिताका संयोजक एवं राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान केन्द्रिय अध्यक्ष नारायण खनाल ‘लेकाली’ ले जानकारी दिनुभयो ।
उपविजेता समूह बनेको राष्ट्रिय लोक तथा गीत प्रतिष्ठानले नगद रु ३१ हजार एक सय ११ र प्रमाणपत्र प्राप्त गरेको छ । यस समूहमा सुमन थापा र सीमा सारुले प्रतिनिधित्व गर्नुभएको थियो ।
पृथ्वी टेलिभिजन रामपुर र होटल श्रीनगर रामपुरले समान अङ्क प्राप्त गर्दै तृतीय स्थान ओगट्दै प्रतिसमूह नगद रु २१ हजार एक सय ११ र प्रमाणपत्र प्राप्त गरेका छन् । पृथ्वी टेलिभिजनको तर्फबाट तोयानाथ विक र विपना खनाल तथा श्रीनगर होटलबाट विष्णु आजात र भुवन अधिकारीले प्रतिनिधित्व गर्नुभएको थियो । प्रतियोगितामा आठ समूहको सहभागिता थियो ।
राष्ट्रिय लोक तथा गीत प्रतिष्ठान स्याङ्जाका सुदिप सापकोटा उत्कृष्ट गायक र चापाकोटका मनिषा पोखरेल उत्कृष्ट गायिका घोषित हुनुभएको छ । लोकदोहोरीका नयाँ प्रतिभाहरूको खोजी, प्रतिभा प्रस्फुटन र मौलिकताको संरक्षण गर्न प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
लोकदोहोरी गीतको मौलिकतालाई जोगाउन र प्रवर्द्धन गर्न प्रतियोगितात्मक कार्याक्रम आयोजना गरिएको रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताउनुभयो । “आधुनिकतासँगै युवा पुस्तामा लोकदोहोरीको महत्त्व घट्दै जाँदा यसको मौलिकता हराउँदै जान थालेकाले संरक्षण र प्रवर्द्धन गर्न यहाँ प्रतियोगिताको आयोजना गरिएको हो । यस कार्यक्रमबाट कला, संस्कृतिमा रुचि भएका नवकलाकार उत्पादन हुनुभएको छ”, उहाँले भन्नुभयो ।
यस्ता प्रतियोगितात्मक कार्यक्रमले लोकदोहोरी गीतको परम्परागत मौलिक संस्कृतिको जगेर्ना गरी नयाँ प्रतिभा उत्पादनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष ढकालले विश्वास व्यक्त गर्नुभयो । आधुनिकतासँगै लोकदोहोरीको मौलिक भाका लोप हुन थालेकाले मौलिकता जोगाउन र युवा पुस्तालाई आकर्षित गर्न मेला, महोत्सवले सहयोग पुर्याउने उहाँको भनाइ छ ।
आमनेसामने भएर दोहोरी गाउने चलन छ । यसमा माया, प्रेम, हाँसो, रोदन, मिलन, विछोड जस्ता विषय समेटेर दोहोरीमा गाउने गरिन्छ । गाउँघरमा हुने दोहोरी प्रतियोगिताबाट धेरै नयाँ कलाकार जन्मेका छन् । ठट्यौली पारामा गाउने दोहोरीले धेरैको मन तानिरहेको हुन्छ । लोक संस्कृतिले मानव जीवनको गाथा, व्यथालाई बोलिरहेको हुन्छ । रासस