• २४ माघ २०८१, बिहिबार

वर्तमान गठबन्धन सरकार आगामी निर्वाचनसम्मै रहन्छ : उपाध्यक्ष थापा

blog

एमाले उपाध्यक्ष राम बहादुर थापा (बादल) नेपाल पत्रकार महासंघ अछाम शाखाले सदरमुकाम मंगलसेनमा आयोजित पत्रकार सम्मेलनमा सहभागी हुनुहुँदै । तस्बिरः शिवराज ढुंगाना

शिवराज ढुगाना
अछाम, माघ २४ गते  । 
नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा (बादल) ले वर्तमान गठबन्धन सरकार आगामी निर्वाचनसम्मै रहने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ अछाम शाखाले सदरमुकाम मंगलसेनमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष थापाले भन्नुभयो, ‘‘यो गठबन्धन सरकार ८४ सम्मै जान्छ ।’’

चीनसँग भएको पछिल्लो सम्झौताले नेपालको सडक र उर्जा क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि भएको उपाध्यक्ष थापाको भनाइ रहेको छ । शान्ति प्रक्रियाको काम पूरा गर्नेतिर सरकार र राजनीतिक दलहरु लागि रहेको उहाँको भनाइ छ ।

यसैगरी, उपाध्यक्ष थापाले राजनीतिक उथलपुथलका कारण देशले विकासमा गति लिन नसकेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ अछाम शाखाले सदरमुकाम मंगलसेनमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष थापाले राजनीति अस्थिरताले तीव्र विकास हुन नसकेको भनाई राख्नुभयो ।

उपाध्यक्ष थापाले नयाँ संविधान पछिका दुईटा निर्वाचनपछि पनि देशमा राजनीतिक अस्थिरता र अराजकताले देशको आर्थिक प्रगति र समृद्धिमा अवरोध खडा गरेको भनाई छ । उपाध्यक्ष थापाले भन्नुभयो, ‘‘जसरी देश आर्थिक समृद्धि, प्रगतितिर जानुपर्ने हो, त्यो देखिराखेको छैन ।’’ दुईटा ठुला दलको सरकारपछि देशको आर्थिक सुचाङ्कहरु सकारात्मकतिर गइरहेको थापाको दाबी रहेको छ ।

यसैगरी, एमालेले भीम रावललाई सदस्यबाट निष्कासित गरेको विषयमा पत्रकारहरुले सोधेको प्रश्नमा थापाले दशौं महाधिवेशन लगत्तै रावल पार्टीबाट अलग भइसकेको बताउनुभयो ।

संसदमा कुनै एक दलको बहुमतको अभावमा समेत राजनीतिक परिवर्तनका कारण देशमा विकासले गति लिन नसकेको भनाइ थापाको छ । राजनीतिक स्थिरताका कारण नेकपा (एमाले) ले निर्णायक शक्ति निर्माणका लागि आह्वान गरेको भन्दै नागरिकले यसमा सहयोग गर्न उपाध्यक्ष थापाको आग्रह छ ।

उपाध्यक्ष थापा एमाले अछामको अगुवा कार्यकर्ता भेलाको सम्बोधनका लागि अछाम सदरमुकाम मंगलसेन पुग्नुभएको हो । अछाम एमालेका अगुवा कार्यकर्ता भेलालाई थापाले बिहीबार सम्बोधन गर्ने कार्यतालिका रहेको छ । बुधबार दिउँसो मंगलसेन पुग्नुभएका थापालाई एमाले अछामका नेताहरुले स्वागत गरेका थिए ।