• २४ माघ २०८१, बिहिबार

देवानगञ्जबाट गाँजा बरामद

blog

सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीबाट तीन सय ५० केजी गाँजासहित पक्राउ परेको भारतीय स्कोरपियो । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, माघ २४ गते । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीबाट तीन सय ५० केजी गाँजासहित भारतीय स्कोरपियो प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार बिहान नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय एचआर ७० ई ९५०२ नम्बर प्लेटको स्काेरपियोमा तीन सय ५० केजी गाँजा बरामद गरेको हो ।

गाँजा ओसारपसारका लागि प्रयोग गरिएको स्कोरपियो चिमडी क्षेत्रबाट तीव्र गतिमा भाग्ने प्रयास गरेकाले त्यस क्रममा चिमडी श्री मावि अगाडि रहेको प्रहरी ब्यारेकमा ठोक्किएर अनियन्त्रित हुन पुगेको थियो । त्यसमा शङ्का लागेर प्रहरीले निगरानीसहित पछ्याउने क्रममा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका असुनार उक्त स्काेरपियोमाथि शङ्का लागेपछि इलाका प्रहरी कार्यालय चिमडीले गाडीलाई पछ्याउँदा करिब ३ किलोमिटर पर मात्रै नियन्त्रणमा लिएको थियो । गाडी खाल्डोमा पुगेपछि गाँजा तस्करहरू भाग्न सफल भएका थिए । अनुसन्धानका क्रममा प्रहरीले एउटा बजाजको टु–ट्वाइन्टी मोटरसाइकल पनि बरामद गरेको छ, जसलाई स्कटिङका लागि प्रयोग गरिँदै आएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय देवानगञ्ज, इलाका प्रहरी कार्यालय हरिनगर, इलाका प्रहरी कार्यालय चिमडी, इलाका प्रहरी कार्यालय घुस्की र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले गाँजा बरामद गरेको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।