हरिप्रसाद कोइराला
उर्लाबारी, माघ २४ गते । पूर्वी मोरङका राष्ट्रिय वन र सामुदायिक वनमा घाँस प्रजातिका वनस्पतिहरूले पालुवा फेर्नै पाउन छोडेका छन् ।वनसँग आश्रित भएर बाख्रा पाल्ने किसानले घाँस प्रजातिका वनस्पतिले पालुवा फेर्नेबित्तिकै काटेर लान थालेपछि वनमा घाँस प्रजाति वनस्पतिको बीउ पाक्न छोडेको छ । बीउ पाक्न नपाएपछि नयाँ बिरुवा उम्रिन छोडेका छन् ।
जङ्गली जनावरहरूले खाने फलफूल र घाँसका कलिला मुनामा मानव अतिक्रमण बढेपछि पछिल्लो डेढ दशक यता साज, टाटरी, कुसुम, कुम्भी, बनकेरा, वनआँप लगायतका नयाँ बिरुवा उम्रिएका छैनन् ।अझ ठुलो रुख नहुने पोथ्रा प्रजातिका बुट्यान कुटमिरो, औलिया, रनबाँस, दमैफल, कालिअँगेरी जातका वनस्पति सङ्कटापन्न अवस्थामा छन् । बाँदरले मन पराउने फडिर, जामुन, हर्रो , बर्रो, कुम्भी, साज, टाटरी, कुसुम, अँगेरी, दमाई फल, वनकेरा, वनआँप लगायतका फलफूलजन्य वनस्पति जङ्गलबाट मासिएपछि बाँदर गाउँघरतिर पस्न थालेका छन् । बाँदरले रुचाउने फलजन्य वनस्पतिकै घाँस खसी बाख्राका लागि उत्तम मानिन्छ ।
२० वर्ष अघिसम्म जङ्गलमा जताततै पाइने रानी कुसुम र साज कानेपोखरी–लेटाङ क्षेत्रको जङ्गलमा पाइन छोडेको छ । समी, डुम्री, टाटरी र कुम्भी पनि क्रमशः मासिँदै गएको कानेपोखरी –७ का पदमप्रसाद कोइरालाले बताउनुभयो । ५२ वर्षीय कोइरालाले भन्नुभयो–४० को दशकमा विद्यालय पढ्दा टिफिनमा खाजा नै कुसुम, फडिरको खान्थ्यौं । एकातिर खाजा खाने पसल थिएन, अर्कोतर्फ बालबालिकालाई पैसा दिने चलन थिएन । अहिले पूर्व पश्चिम राजमार्गको दक्षिणतर्फ कुसुम, टाटरी, डुम्री, कुम्भी, साज छैन । व्यावसायिक बाख्रापालन अभियान सुरु भएपछि जथाभावी बिरुवा काटिन थालेको जानकारहरू बताउँछन् ।टाटरी, कुम्भी, साज, रानी कुसुम लगायतका फल जङ्गलमा देखिन छोडेको कानेपोखरी–४ का तुलसीप्रसाद दाहालले बताउनुभयो ।
कानेपोखरी दक्षिणका गाउँहरूबाट उत्तरतर्फको जङ्गलमा र लेटाङ उत्तरका गाउँहरूबाट दक्षिणको जङ्गलमा दैनिक ६ सयभन्दा बढी साइकल, मोटरसाइकल घाँस लिन जाने गर्छन् । बाख्रापालनका लागि घाँसको व्यवस्थापन जङ्गलबाटै गर्ने हो । तर जङ्गलका ठुला रुखबाट घाँस झार्नेभन्दा साना बुट्यान नै काटेर ल्याउने गर्दा जङ्गलमा घाँस प्रजाति वनस्पति सकिँदै गएको डिभिजन वन कार्यालयका मोरङका प्रमुख वन अधिकृत उत्सव थापाले बताउनुभयो । उहाँले भन्नुभयो –जङ्गलबाट घाँस ल्याउन रोक्दा पनि राम्रो सन्देश जाँदैन । त्यसैले सचेतना कार्यक्रम र लोपोन्मुख प्रजातिका बिरुवाको वृक्षरोपण गर्नुको विकल्प छैन । थापाका अनुसार डिभिजन वन कार्यालय मोरङले चालु वर्ष ४० हजार वनजन्य फलफूलको वृक्षरोपण गर्ने कार्यक्रम तय गरेको छ ।
यस्तै सब डिभिजन वन कार्यालय कानेपोखरीका सहायक वन अधिकृत अल्लाउद्दिन अन्सारीले १२ सय रानी कुसुमको बिरुवा कानेपोखरी सब डिभिजन वन कार्यालयले हुर्काइरहेको बताउनुभयो ।
कानेपोखरी– ७ को ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देवेन्द्र थापाले सामुदायिक वनको खाली जग्गामा गत वर्ष नै जङ्गली फलफूलजन्य वनस्पतिको वृक्षरोपण गरिएको बताउनुभयो । थापाका अनुसार सामुदायिक वनले बस्तीसँगै जोडिएको वनको खाली जग्गामा अझै जङ्गली फलफूलजन्य बिरुवा रोप्ने तयारी भइरहेको छ ।