बुटवल समाचारदाता
बुटवल, माघ २४ गते । सरकारले सैनामैना नगरपालिका रुपन्देहीलाई फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि स्वीकृति दिने निर्णय गरेसँगै फोहोर प्रशोधन केन्द्र निर्माणको काम अघि बढ्ने भएको छ । मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले सैनामैना–१०, एकला पहाड क्षेत्रमा खोरमोर नदी उकास क्षेत्रको ३.५ हेक्टर वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो । यो निर्णयसँगै वनको जग्गाको भोगाधिकार नपाएर वर्सौंदेखि अलपत्र रहेको फोहोर व्यवस्थापनका काम अब सुरु हुन बाटो खुलेको छ । सैनामैनाका निवर्तमान नगरप्रमुख चित्रबहादुर कार्कीको पालामै अघि बढेको यो आयोजना भोगाधिकार नपाएकै कारण रोकिएको थियो ।
सरकारको निर्णयसँगै बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाको फोहोर सैनामैना–१० स्थित एकला पहाडमा निर्माण हुने फोहोर व्यवस्थापन केन्द्रमा व्यवस्थापन गर्न बाटो खुलेको छ ।
खोरमोर प्रशोधन केन्द्रको निर्माणका लागि बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाले छ वर्षअघि सम्झौता गरी काम अघि बढाएका थिए । सैनामैना नगरपालिकाका निवर्तमान प्रमुख चित्रबहादुर कार्कीले रुपन्देहीको मात्र नभै अरू जिल्लाको समेत फोहोर व्यवस्थापन गर्न सकिने बताउनुभयो ।
फोहोर प्रशोधन गरी बायोग्यास उत्पादन गर्ने, प्लास्टिक दाना उत्पादन गर्ने र कम्पोस्ट मल बनाउने गरी योजना अघि बढाइएको थियो । सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सरकारले जग्गा प्रयोग गर्न दिने निर्णय गरेकाले अब फोहोर प्रशोधन केन्द्र निर्माणको काम अघि बढ्ने बताउनुभयो । फोहोर प्रशोधन केन्द्र निर्माणका लागि निजी क्षेत्रसमेत इच्छुक रहेको बताइएको छ । प्रशोधन केन्द्र निर्माणका लागि २० करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ । त्यसमा एसियाली विकास बैङ्कले समेत ऋण लगानी गर्न चासो देखाएको थियो ।
फोहोर प्रशोधन केन्द्र निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भइसकेको छ । साथै आयोजना स्थलबाट १६४ वटा रुखसमेत हटाइसकिएको छ ।