• २४ माघ २०८१, बिहिबार

बयासी मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

blog

सोलुखुम्बु,  माघ २४ गते ।  जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर  निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको छ । 

तल्लोसोलु हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित आयोजनाका जेनेरेटर, टर्वाइन जडान, हेडबक्स, पावर हाउस, सुरुङमार्गलगायत संरचना निर्माण भएका छन् । 

कम्पनीका प्रबन्धक धर्मेन्द्र गोतामेका अनुसार  आयोजनाको पेनस्टक टनेलको ‘बेक थ्रु’ को चरणमा पुगेको छ ।  उहाँले भन्नुभयो, “आयोजनाको काम  अन्तिम चरणमा पुगेको छ । अब पेनस्टक पाइपको मात्र बाँकी छ । आगामी भदौमा व्यावसायिक उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।” 

आयोजनाको प्रसारण लाइन निर्माण कार्य पनि ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । एफएमओलगायतका युरोपियन बैंक ९इन्टरनेसनल फन्डिङ एजेन्सी० को रु १६ अर्ब ऋण लगानीमा सन् २०१६ अगस्तदेखि निर्माण कार्य थालिएको थियो । आयोजना सेप्टेम्बर २०२५ भित्रमा पूरा गर्ने लक्ष्य राखिएको छ । 

सोलुदूधकुण्ड नगरपालिका–७ र ११ को सिमानामा पर्ने साल्मे क्षेत्रको सोलु खोलामा बाँध निर्माण गरी पानी सङ्कलन गरिएको छ । उक्त पानी करिब छ किलोमिटर टाढाको तिङ्लाको भदौरेस्थित पावर हाउसमा झारिनेछ । यसका लागि पाँच किलोमिटर लामो सुरुङमार्ग निर्माण गरिएको छ । 

भौगोलिक कठिनाइ र लामो सुरुङमार्गका कारण अनुमानित लागतभन्दा अधिक खर्च हुनसक्ने उहाँको अनुमान छ । हाल आयोजनामा सात सय कामदार कार्यरत छन् । साथै सय जना स्थानीयले रोजगारी पनि पाएका छन् । 

आयोजना सम्पन्न भएपछि हिउँदमा न्यूनतम २३ मेगावाट र वर्षायाममा ८२ मेगावाट विद्युत् उत्पादन हुनेछ राखिएको छ । उत्पादित विद्युत् तिङ्ला सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । रासस