• २३ माघ २०८१, बुधबार

संविधान संशोधनको नेतृत्व कांग्रेसले गर्छ : उपसभापति खड्का

blog

गण्डकी प्रदेशको व्यवस्थापनमा दुई दिनसम्म चलेको अभिमुखीकरणको समापनमा बोल्दै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का । तस्बिर : रमेश पौडेल

रमेश पौडेल

पोखरा, माघ २३ गते । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान संशोधनको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताउनु भएको छ । 

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा पोखरामा ७७ जिल्लाका कांग्रेस जिल्ला सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको समापन सत्रमा उहाँले यस्तो विचार राख्जु भएको हो ।

कांग्रेस गण्डकी प्रदेशको व्यवस्थापनमा दुई दिनसम्म चलेको अभिमुखीकरणको उद्घाटन पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको थियो । 

बुधबार समापन गर्दै प्रशिक्षण विभाग प्रमुख पूर्णबहादुर खड्काले प्रशिक्षणपछि अब नयाँ संकल्प, आत्मविश्वास, उत्साह, दृढताका साथ पार्टीलाई अघि बढाउन कार्यकर्ता माझ जानुपर्ने सुझाव दिनुभयो । 

उहाँले यो प्रशिक्षणले देशभर सकारात्मक सन्देश प्रवाह भएको भन्दै उहाँले  अब प्रदेश, जिल्ला तहमा हुने प्रशिक्षण अझै प्रभावकारी हुने बताउनुभयो । कांग्रेसको विधान संशोधनका लागि आएका विभिन्न सुझावले पार्टीलाई बल पुगेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘प्रशिक्षणमा प्राप्त सुझाव सम्पत्तिको रुपमा राखिएको छ । यसले भोलिका दिनमा टिकट प्रणालीलाई समेत पारदर्शी बनाउन सहज गराउने छ ।’ 

मुलुकको स्थायित्व, समृद्धि र विकासका लागि एमाले–कांग्रेसबीच सत्ता गठबन्धन गर्नुपरेको उहाँको भनाइ थियो । कांग्रेस जिम्मेवार पार्टी भएको र पार्टीको काँधमा जिम्मेवारी आएकाले एमालेसँग मिलेर सरकार भन्दै उहाँले एमालेसँग गठबन्धनको बेलामा नै संविधान संशोधनको सहमति भएको बताउनुभयो । संविधान संशोधनका लागि कार्यदलले काम थालेपछि संसदमा रहेका सांसद, नागरिक समाजसँग जाने र त्यसको नेतृत्व कांग्रेसले नै गर्ने जानकारी दिनुभयो ।


गृहमन्त्रीसमेत रहनुभएका कांग्रेस नेता रमेश लेखकले सरकारलाई स्थायित्व दिनका लागि ठूला दुई दल मिल्नुपरेको बताउनुभयो । मुलुकको राजनीतिलाई स्थायित्व, एमाले कांग्रेसको सहकार्यका बारेमा बोल्दै उहाँले भन्नुभयो, ‘‘मुलुकमा देखिएको राजनीतिक अस्थिरता र यसले निम्त्याएका समस्या समाधानका लागि एमालेसँग मिलेर गठबन्धनको सरकार बनाएका हौँ । प्रतिस्पर्धासँगै सहकार्य दुवै जटिल भए पनि हामीहरुले व्यवस्थित रुपमा अगाडि बढाएका छौं ।’’

 उहाँले हालसम्म सरकारको नेतृत्व गरिरहेको एमालेसँग कुनै पनि असन्तुष्टि नरहेको जिकिर गर्नुभयो । पछिल्ला अध्यादेशले उद्योगी र व्यवसायीसमेत उत्साहित भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘स्थायित्व, विकास, आर्थिक समृद्धि र शान्तिका लागि सत्तागठबन्धन गरिएको र यो सन्देश लिएर गाउँगाउँ जानुपर्छ ।’’

पार्टी महामन्त्री गगनकुमार थापाले पार्टीको कार्यक्रममा सबैलाई आमन्त्रित गरिएको  बताउनुभयो । उहाँले प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सहज रुपमा लिन आग्रह गर्नुभयो । प्रशिक्षण उपब्धिमूलक भएको उहाँले बताउनुभयो । 

कांग्रेस कास्कीका उपसभापति एवं जिल्लाका प्रशिक्षण विभाग प्रमुख युवराज कुँवरले प्रशिक्षणले संगठनलाई बलियो बनाएको प्रतिक्रिया दिनुभयो । भ्रातृसंगठनका अधिवेशन समयमै नहुँदा गुटको सिर्जना भएकाले चाँडै अधिवेशन गर्न उहाँले मागसमेत गर्नुभयो ।

यसैबीच, कांग्रेसले ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका–०८१’ तयार गरेको छ । जनप्रतिनिधि भ्रष्टाचार र अनियमिततामा संलग्न भएको आरोप लाग्दै गएपछि सरकारमा रहेको पार्टी नेपाली कांग्रेसका तर्फबाट तीनै तहमा निर्वाचित जनप्रतिनिधिहरूको कार्यसम्पादन थप प्रभावकारी बनाउन यो निर्देशिका बनाइएको पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले  बताउनुभयो । महामन्त्री शर्माले निर्देशिकाले जनप्रतिनिधिलाई आमनागरिकको भावना सम्बोधन गर्दै तोकिएको जिम्मेवारी सम्पादनमा सघाउने बताउनुभयो । 

महामन्त्री शर्माले पेस गरेको ‘महासमिति पछिको राजनीतिक परिस्थिति र समसामयिक सन्दर्भ’ विषयक कार्यपत्रमा निर्देशिकाबारे जानकारी गराइएको छ । कार्यपत्रमा भनिएको छ, ‘नेपाली कांग्रेसका तर्फबाट संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्नु हुने साथीहरूले आफ्नो योग्यता र क्षमताले सम्भव कार्यसम्पादन गर्दै आउनु भएको छ । आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न सहज होस् भन्ने उद्देश्यले ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका–०८१’ निर्माण गरिएको छ ।’ पार्टी केन्द्रीय कार्यसमिति बैठकले पारित गरेपछि निर्देशिका कार्यान्वयनमा जानेछ ।


अभिमुखीकरणमा पार्टीको ७७ वटै जिल्लाका सभापति, जिल्लाका प्रशिक्षण शाखा प्रमुख तथा उपसभापति गरी करिब दुई सय जनाले भाग लिएका थिए । यो कार्यक्रम अघि सोमबार कांग्रेसका प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभाग प्रमुखका लागि संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरणसमेत भएको थियो ।