सर्लाही समाचारदाता
सर्लाही, माघ २३ गते । सर्लाहीका किसानले उत्पादन गरेको काउली र बन्दा बिक्री हुन छाडेको छ । यहाँका किसानले अहिले काउली र बन्दा मुस्किलले प्रतिकेजी चारदेखि पाँच रुपियाँमा बेचिरहेका छन् । चन्द्रनगर गाउँपालिका–२, बबरगन्जका किसान बद्री साहले डेढ बिघा जग्गा भाडामा लिएर काउली खेती गरेकोमा मूल्य नै नपाएपछि समस्यामा परेको गुनासो गर्नुभयो । गत वर्ष व्यापारीलाई काउली प्रतिकेजी १५ देखि २८ रुपियाँसम्म बेचेका साहले यस वर्ष चारदेखि पाँच रुपियाँमा बेच्नु परेको बताउनुभयो । “गत वर्ष एक बिघामा काउली लगाउँदा २८ रुपियाँ केजीसम्म बिक्री गरेँ तर यस वर्ष त चार रुपियाँ केजी बिक्री गर्न पनि मुस्किल परिरहेको छ,” साहले भन्नुभयो, “यो मूल्यमा काउली बेच्दा मलखाद, विषादी र कामदारको खर्च त कहाँ हो कहाँ पानी पटाएको खर्चधरी उठ्दैन ।” साहले वार्षिक प्रतिकट्ठा चार हजार रुपियाँमा जग्गा भाडा तिरेर काउली खेती गर्नुभएको छ । जग्गाधनीलाई कसरी जग्गाको भाडा बुझाउने भन्ने चिन्ताले सताएको साहले दुःखेसो पोख्नुभयो ।
बबरगन्जकै रामदिनेश महतोले काउली खेती गर्ने किसान यस वर्ष निकै मारमा परेको बताउनुभयो । पाँच रुपियाँ केजी काउली बिक्री गर्दा लागत नै नउठ्ने अवस्था आएको महतोको भनाइ छ । “एक कट्ठा खेतमा काउली उत्पादन गर्न चार हजार रुपियाँभन्दा बढी लागत पर्न जान्छ तर अहिले किलोको चार/पाँच रुपियाँमा पनि बिक्री हुँदैन,” महतोले भन्नुभयो, “हामी किसान त व्यापारीले जति मूल्य दिन्छन्, त्यतिमै बेच्न बाध्य छौँ ।” किसानलाई मोटरसाइकलमा हालेर बजारसम्म काउली र बन्दा लगेर बिक्री गर्दा पेट्रोल खर्च उठाउनसमेत धौ धौ परेको छ ।