• २२ माघ २०८१, मङ्गलबार

सुनकोशीमा जल पर्यटन प्राथमिकतामा

blog

भक्तिविलास पोखरेल 

गाईघाट, माघ २२ गते । उदयपुरको त्रियुगा नगरपालिकाले सुनकोशी नदीमा जल पर्यटनको विकास गर्दै स्थानीयवासीलाई आयआर्जनसँग जोड्ने उद्देश्यले आधारभूत कायक तथा र्‍याफ्टिङ तालिम सुरु गरेको छ । 

नगरपालिकाले नदीलाई पर्यटनसँग जोड्दै व्यावसायिक रूपमा जलयात्रा सञ्चालन गरी कोशी तटीय क्षेत्रका स्थानीयवासीलाई आयआर्जनसँग जोड्ने उद्देश्यले तालिम दिन सुरु गरिएको नगरप्रमुख वसन्तकुमार बस्नेतले बताउनुभयो । 

सामूहिक जलयात्राका लागि विश्वकै उत्कृष्टमध्यको एक गन्तव्य रहेको सुनकोशी नदीमा व्यावसायिक रूपमा जलयात्रा गराई पर्यटन प्रवर्धन गर्नुका साथै आयस्रोत भित्र्याउने उद्देश्यले त्रियुगा नगरपालिकाको वडा नं. १४ र १५ का नौ जना स्थानीय युवालाई रिभर गाइडसम्बन्धी तालिममा सहभागी गराइएको नगरप्रमुख बस्नेतले बताउनुभयो । 

नगरपालिका साहसिक क्षेत्रका खेल पर्यटनका लागि सम्भावनायुक्त स्थान रहेकाले तालिमपछि लाइसेन्स प्राप्त गर्ने युवालाई जलयात्रा व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने आर्थिक तथा भौतिक सहयोग गर्न नगरपालिका तयार रहेको पनि नगरप्रमुख बस्नेतले बताउनुभयो ।

त्रियुगा नगरपालिका वडा नं. १४ को धाप्लाङस्थित सुनकोशीमा आधारभूत कायक तथा र्‍याफ्टिङ तालिमको शुभारम्भ गर्दै हिमालयन आउट डोर प्रोजेक्टका सञ्चालक तथा सर्टिफिकेसन लेभलका प्रशिक्षक अनुप गुरुङले उदयपुरको रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाको सीमा क्षेत्रमा पर्ने सुनकोशी नदीमा र्‍याफ्टिङका लागि अतिनै उपयुक्त स्थान भएको बताउनुभयो ।

कोशीको समतल सतह, फराकिलो नदी किनारा र उपयुक्त जङ्गल कोरिडोरसमेत रहेकाले यस स्थानलाई जल पर्यटनमा विकास गर्न सके पर्यटन क्षेत्रमा त्रियुगा नगरपालिकाले ठुलो फाइदा लिनसक्ने पनि उहाँको भनाइ छ । 

हिमालयन आउट डोर प्रोजेक्टको सहकार्य, त्रियुगा नगरपालिकाको आर्थिक सहयोग र होटेल पर्यटन व्यवसायी सङ्घ उदयपुरको आयोजनामा सञ्चालन गरिएको तालिममा सहभागी नौ जना स्थानीय युवालाई कायक तथा र्‍याफ्टिङसम्बन्धी आधारभूत तहको सर्टिफिकेटसमेत प्रदान गरिएको छ ।