प्रेम अधिकारी
पशुपतिनगर, माघ २२ गते । एक सातादेखिको लगातारको बन्दका कारण स्वदेशी पर्यटकको भिड लाग्ने इलामको अन्तु, कन्याम जस्ता पर्यटकीय क्षेत्र सुनसान छन् ।
ताप्लेजुङ पाथीभरा मन्दिरमा केबुलकार निर्माण र त्यसपछि उत्पन्न विवादपछि गरिएको बन्दले इलामका प्रमुख पर्यटकीय स्थल अन्तु, कन्यामसहितका क्षेत्र सुनसान बनेका हुन् ।
लगातारको बन्दका कारण मेची राजमार्गमा यातायात सञ्चालन हुन नसक्दा पर्यटक आउन छाडेपछि पर्यटकीय क्षेत्र सुनसान भएका हुन् । सूर्योदय नगरपालिकाको कन्याम, अन्तु, रोङ गाउँपालिकाको सानो पाथीभरा मन्दिर, सन्दुकपुर गाउँपालिकाको सन्दुकपुरडाँडा, देउमाई नगरपालिकाको पानीटार, इलाम नगरपालिकाको इलाम बजार क्षेत्र सुनसान छन् । कन्यामका पर्यटन व्यवसायी टेकराज गिरीले स्वदेशी पर्यटकको भिड लाग्ने कन्याम बन्द सुरु भएपछि सुनसान बनेको बताउनुभयो । उहाँले कन्याममा घोडचढी व्यवसाय गर्ने, विभिन्न जातजातिका पोसाकको व्यवसाय गर्ने, कोसेलीको व्यवसाय गर्ने र होटेल व्यवसायी बन्दको प्रत्यक्ष मारमा परेको बताउनुभयो । व्यवसायी गिरीले भन्नुभयो, “झापा हुँदै आउने पर्यटक तलै रोकिएका छन् । बन्दको हल्लाका कारण भारतीय पर्यटक पनि एक जना आएका छैनन ।” बन्दका कारण दैनिक रूपमा व्यवसाय गरी हातमुख जोड्नै समस्या हुने घोडचढी व्यवसायी प्रेम ग्यावकले बताउनुभयो ।
कन्याम जस्तै पर्यटकको बाह्रै महिना भिड लाग्ने अन्तु पनि सुनसान बनेको छ । पर्यटक आउन नसकेपछि अन्तुमा सञ्चालित होमस्टे, कटेज तथा होटेलसहितको व्यवसाय ठप्प भएको अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेले जानकारी दिनुभयो । जिल्लाका अन्य पर्यटकीय स्थल सन्दुकपुर, पानीटार, चिया बगानसहितका क्षेत्र पनि सुनसान छन ।
बन्द लम्बिँदा सबै जसो व्यवसायमा पूर्ण असर परेको भन्दै इलाम उद्योग वाणिज्य सङ्घले सरकार र बन्द कर्ताले वार्ताको वातावरण बनाई जनजीवन सहज बनाउन इलाम उद्योग वाणिज्य सङ्घले आह्वान गरेको छ । सङ्घका अध्यक्ष कृष्ण पौडेलले बन्द स्थगित गरी दुवै पक्षले शान्तिपूर्ण तवरले निकास निकाल्नुपर्ने बताउनुभयो । उहाँले लगातारको बन्दले व्यवसायमा प्रतिकूल असर पर्दा व्यवसायीले बैङ्कको ब्याज र किस्ता तिर्न नसक्ने अवस्था आएको बताउनुभयो । बन्दका कारण पर्यटन क्षेत्र सबैभन्दा बढी मारमा परेको छ । होटेल व्यवसायी सङ्घ इलामका अध्यक्ष देवी पौडेलले एक साता लामो बन्दका कारण होटेल क्षेत्रमा करोडौँको घाटा भएको बताउनुभयो ।