शालिग्राम नेपाल
चितवन, माघ २२ गते । भरतपुर–माडी हुँदै ठोरी जानका लागि नयाँ बन्न लागेको हुलाकी राजमार्गको ट्र्याक सर्भेको काम सकिएको छ । अहिले सञ्चालनमा रहेको पुरानो सडकलाई परिमार्जन गरी केही स्थानमा नयाँ ठाउँबाट सडक लैजान अनुमति पाएपछि सर्भे गरिएको हो ।
निकुञ्ज क्षेत्रभित्रको सडकखण्ड निर्माण गर्न ट्र्याक सर्भेको काम सकिएको हो । भरतपुर महानगरपालिका अन्तर्गत ध्रुवघाट हुँदै रिउखोला र माडीको दक्षिण–पूर्व बगई–प्याउली–कुसुमखोला–बाँदरझुला हुँदै ठोरी जोड्ने गरी हुलाकी सडक निर्माण गर्न वन मन्त्रालयले सहमति दिएपछि अहिले पुनः सर्भे गरेको छ ।
मन्त्रालयले सहमति दिएपछि पहिलो चरणको सर्भेको काम सकिएको हुलाकी सडक योजना कार्यालय वीरगन्जका प्रमुख विनोद साहले जानकारी दिनुभयो । सहमति अनुसार मन्त्रालयले खटाएको कन्सल्टेन्सीमार्फत अहिले सर्भेको काम भएको हो । सर्भे सकिएपछि विस्तृत लागत योजना (डिपिआर) तयार हुने छ । वातावरण प्रभाव मूल्याङ्कनको कामपछि मात्र सडक निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढ्ने कार्यालय प्रमुख साहले जानकारी दिनुभयो ।
मन्त्रीपरिषद् बैठकले २०८१ भदौ २७ गते राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र ठोरी–माडी सडकको बगई–प्याउली–कुसुमखोला–बाँदरझुला हुँदै ठोरी जोड्ने गरी हुलाकी सडकखण्डको नयाँ रेखाङ्कन स्वीकृतिको प्रक्रिया अगाडि बढाएको थियो । मन्त्रालयको सहमतिमा आएको टोलीले सर्भेको काम १० दिन लगाएर गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जानकारी दिनुभयो ।
मन्त्रीपरिषद्ले स्वीकृति दिएसँगै हाल सञ्चालनमा रहेको माडी नगरपालिका–९, बगईदेखि अमुवा हुँदै ठोरी सडक (१५.३ किमी) को विकल्पमा निकुञ्जको मध्यवर्ती क्षेत्र भएर जाने बगईदेखि कुसुमखोला हुँदै ठोरी (करिब १६.५ किमी) र रिउ–राप्ती खण्डमा कसरा पुलदेखि धु्रवघाट–देउराली वनकट्टासम्म (१०.३ किमी) को विकल्पमा रिउखोला –वनकट्टा) देखि धु्रवघाट हुँदै राप्ती नदीमा नयाँ पुल निर्माण गरी जगतपुर जोड्ने सडक (करिब ७.३ किमी) खण्डको वैकल्पिक सडक निर्माण गर्न बाटो खुलेको छ ।
चितवन निकुञ्जका कारण रेखाङ्कन संशोधन गरेर यो सडकलाई पूर्णता दिन लागिएको हो । सुरुको रेखाङ्कन परिवर्तन गरेर निकुञ्जको मध्यवर्ती क्षेत्र भएर जाने बगईदेखि कुसुमखोला हुँदै ठोरी १६.५ किमी र रिउखोला (वनकट्टा) देखि र ध्रुवघाटको राप्तीमा नयाँ पुल निर्माण गरी जगतपुर जोड्ने गरी ७.३ किमी हुलाकी राजमार्ग निर्माण गरिने भएको छ । त्यस्तै पूर्वपश्चिम विद्युतीय रेलमार्गले पनि भरतपुरलाई छुने छ ।
त्यसअघि वन तथा वातावरण मन्त्रालयले निकुञ्जभित्र नयाँ स्थानबाट सडक निर्माणका लागि २०७९ असोज ४ गते सहमति दिएको थियो । अर्थ मन्त्रालयले २०८० फागुन २ गते हाल कायम हुलाकी सडकलाई नयाँ स्थानबाट लैजान सैद्धान्तिक सहमति दिएको थियो । ट्र्याक सर्भेको काम पूरा भएसँगै यसको थप कामका लागि पहल भइरहेको माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिनुभयो ।
सर्भे गर्दा स्थलगत अध्ययनका लागि पुग्नुभएका स्थानीय श्रीप्रसाद दवाडीले नयाँ बन्ने सडकले बाँदरझुला बस्तीलाई समेटेर जाने भएकाले यो सबैभन्दा उपयुक्त हुने बताउनुभयो । यो सर्भेपछि सडक निर्माणको आशा पलाएको उहाँले बताउनुभयो । वन मन्त्रालयले नयाँ सहमति दिँदा नयाँ ट्र्याकले जैविक विविधतामा कम प्रभाव पर्ने उल्लेख गरेको थियो । वन्यजन्तुको आवतजावतका लागि सकेसम्म अन्डरपासको निर्माण गर्नुपर्ने, इआइए कार्यमा निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय समुदायका प्रतिनिधि र वातावरणविज्ञको समेत सहभागिता रहनुपर्ने एवं राजमार्गलार्ई समेत विकल्पका रूपमा अध्ययन गर्नुपर्ने सर्त अगाडि सारेको थियो ।
वन तथा वातावरण मन्त्रालयको वातावरण तथा जैविक विविधता महाशाखाको प्रतिवेदन अनुसार वैकल्पिक सडकको सम्भाव्यता अध्ययन हुँदा निकुञ्जको उक्त क्षेत्रको जैविक विविधतामा कम नकारात्मक प्रभाव पर्ने देखिन्छ । हालको सडक रेखाङ्कन संशोधन हुँदा सरकारलाई भविष्यमा थप आर्थिक व्ययभार नपर्ने सडक विभागले जानकारी दिएको छ । हुलाकी सडकको मापदण्ड अनुसार निर्माण हुने सडकको चौडाइ सात मिटर हुने छ । नयाँ सर्भेपछि बन्ने सडक अन्तर्गत राप्ती नदीमा लामो र अन्य साना खोलामा कलभर्ट तथा साना पुल निर्माण गर्नुपर्ने हुलाकी सडक योजना कार्यालय वीरगन्जका प्रमुख साहले बताउनुभयो । माडीदेखि ठोरीसम्म अहिले सञ्चालनमा रहेको पुरानो सडक भने साँघुरो र जीर्ण अवस्थामा रहेको छ ।