• २२ माघ २०८१, मङ्गलबार

‘न्यायाधीश पनि सुधारिनु पर्छ’

blog

वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नुभएका जगन्नाथ भण्डारीलाई सम्मानपत्र प्रदान गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल । तस्बिर : वसन्त पराजुली

नारायणगढ समाचारदाता

नारायणगढ, माघ २२ गते । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले न्यायाधीशहरू पनि सुधारिनुपर्ने बताउनुभएको छ । चितवन जिल्ला अदालत बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण कार्यक्रममा सोमबार भरतपुरमा सम्बोधन गर्दै न्यायाधीश फुयाँलले विभिन्न अध्ययन अनुसन्धानले हाम्रो न्याय क्षेत्रमा समस्या भएको देखाएकाले त्यसलाई सुधार्न जरुरी रहेको बताउनुभयो ।

“सबै त नभनौँ, केहीमा समस्या हुन सक्छ । न्यायाधीशहरू पनि अब सुधारिनुप र्छ,” उहाँले भन्नुभयो । कानुन व्यवसायी ९० प्रतिशत राम्रा भए पनि बाँकीले बिचौलियालाई सहयोग गरिरहेको जस्तो देखिन्छ, न्यायाधीश फुयाँलले भन्नुभयो, “कानुन व्यवसायीमा समस्या छ,  चितवनका कानुन व्यवसायीप्रति भने धेरैको उच्च मूल्याङ्कन रहेको छ ।” उहाँले अदालतको संरचना निर्माणमा स्थानीय सरकारको सहयोग लिन सकिने बताउनुभयो । “स्थानीय तहमा पहुँच पुग्छ भने सहयोग माग्नूस् प्रभावमा प¥यो भन्न पर्दैन । यथार्थ अवस्था बुझाएर उहाँहरू सकारात्मक हुनुभयो भने भइगयो नि,” उहाँले भन्नुभयो । 

“बार र बेन्चको भूमिका फरक भए पनि उद्देश्य न्याय दिनु हो । यो साझा मुद्दामा हामी एक ठाउँमा छौँ,” न्यायाधीश फुयाँलले भन्नुभयो । उच्च अदालत पाटन, हेटौँडाका मुख्य न्यायाधीश यमुना भट्टराई अदालतका कामकारबाहीका सम्बन्धमा छलफल गरेर समस्या समाधान गर्न उच्च अदालत तयार रहेको बताउनुभयो । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अदालतप्रति जनताको भरोसा भएको बताउनुभयो । “अदालतको भरोसा हुँदाहुँदै पनि कानुनमा व्यवस्था भएको कुरा कार्यान्वयन भएन भने बार बोल्नै पर्छ, बोल्छ,” उहाँले भन्नुभयो, “अदालतको रक्षा गर्ने काम बार नेतृत्वको हो । त्यो कानुन अनुसार हुनु पर्छ भन्ने हाम्रो मान्यता हो ।’’ उहाँले समाजका जिम्मेवार नागरिक भएका कारण कानुन व्यवसायी सचेत हुनुपर्ने बेला आएको बताउनुभयो । संविधान सभाका सदस्य तथा वरिष्ठ अधिवक्ता कृष्णभक्त पोख्रेलले कानुनलाई जनताको पहुँचसम्म पु¥याउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले प्रशासन कार्यालय अर्धन्यायिक निकाय भए पनि न्याय सम्पादनमा सहज नभएको बताउनुभयो । कार्यक्रममा वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नुभएका जगन्नाथ भण्डारी, प्रभुकृष्ण कोइराला, ऋषिराज शर्मा, खड्गबहादुर गुरुङ र राजकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा नवनिर्वाचित बारका अध्यक्ष फूलमाया रानाभाटको अध्यक्षतामा रहेको समितिलाई  निर्वाचित प्रमाणपत्र वितरण गरिएको थियो ।