गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २२ गते । चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चालु खाता एक खर्ब ४८ अर्ब १७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ६२ अर्ब ५६ करोडले बचतमा रहेको थियो ।
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आव २०८१/८२ को छ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब आठ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर चार अर्ब २९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर तीन अर्ब ११ करोड रहेको थियो । यसै गरी समीक्षा अवधिमा छ अर्ब ५० करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) आप्रवाह चार अर्ब ५४ करोड रहेको थियो ।
वस्तु निर्यात ३१.८ प्रतिशतले वृद्धि
छ महिनामा कुल वस्तु निर्यात ३१.८ प्रतिशतले वृद्धि भई ९८ अर्ब ७९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.२ प्रतिशतले कमी आएको थियो ।
गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ४६.१ प्रतिशत, १९.७ प्रतिशत र १.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाबिन तेल, चिया, पोलिस्टर यार्न तथा थे्रड, पार्टिकल बोर्ड, अलैँचीलगायतका वस्तुको निर्यात बढेको छ भने पामतेल, जिङ्क सिट, अदुवा, तयारी पोसाक, जडीबुटीलगायतका वस्तुको निर्यात घटेको छ ।
आयात ७.१ प्रतिशतले वृद्धि
समीक्षा अवधिमा कुल वस्तु आयात ७.१ प्रतिशतले वृद्धि भई आठ खर्ब २२ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३.१ प्रतिशतले कमी आएकोे थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.९ प्रतिशत, ८.९ प्रतिशत र ९.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा कच्चा भटमास तेल, चामल, धान, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारीसाधनका स्पेयर पाटर्स, स्पन्ज आइरन, खानेतेललगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा पामतेल, सुन, रासायनिक मल, केराउलगायतका वस्तुको आयात घटेको छ ।
शोधनान्तर स्थिति साढे दुई खर्बले बचतमा
समीक्षा अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ४९ अर्ब २६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ७३ अर्ब ५२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब छ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ८२ करोडले बचतमा रहेको छ ।
पुस मसान्तमा कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भएको छ । गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भई पुस मसान्तमा २३ खर्ब १६ अर्ब ८४ करोड पुगेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा पुस मसान्तमा १०.३ प्रतिशतले वृद्धि भएर १६ अर्ब ८४ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैङ्कमा रहेको सञ्चिति गत असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा पुस मसान्तमा १२.१ प्रतिशतले वृद्धि भई २० खर्ब ७२ अर्ब ३४ करोड पुगेको छ ।
बैङ्क तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा पुस मसान्तमा २७ प्रतिशतले वद्धि भई दुई खर्ब ४४ अर्ब ५० करोड कायम भएको छ । पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।