• २१ माघ २०८१, सोमबार

सरस्वतीको पूजा आराधना विधिपूर्वक सम्पन्न

blog

काठमाडौँ, माघ २१ गते । विद्या प्राप्तिको कामना गर्दै आज विधिपूर्वक सरस्वती देवीको पूजा, आराधना गरिएको छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ का अवसरमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरिन्छ । पूजा, आराधनाका लागि बिहानैदेखि देशभरका सरस्वती मन्दिरमा भक्तजनको भीड लागेको थियो ।

आजका दिन निष्ठापूर्वक सरस्वतीको पूजा-आराधना गरेमा विद्या प्राप्त हुने शास्त्रीय मान्यता छ । यस अवसरमा लाजिम्पाटस्थित नील सरस्वतीस्थान, स्वयम्भूस्थित सरस्वती मन्दिर, ललितपुर लेलेस्थित सरस्वती कुण्डलगायत राजधानीका विभिन्न स्थानमा रहेका सरस्वती मन्दिरमा बिहानैदेखि भक्तजनले विधिपूर्वक पूजा, आराधना गरेका छन् । मैतीदेवी मन्दिर क्षेत्रमा रहेको सरस्वती मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको काठमाडौँ महानगरपालिका-३० का अध्यक्षसमेत रहनुभएका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर कार्कीले जानकारी दिनुभयो । 

काठमाडौँ महानगरपालिका-२९ स्थित डिल्लीबजारमा रहेको सरस्वती मन्दिरमा भक्तजनले विधिपूर्वक पूजा आराधना गरे । यसैगरी काठमाडौँ उपत्यका बाहिरका सरस्वती मन्दिरमा पनि भक्तजनको भीड लागेको जनाइएको छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धीका लागि तारादेवीका रूपमा मान्छन् । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । 

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धी पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धी र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठुलो महत्त्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धी प्राप्त हुन्छ भन्ने विश्वास छ ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न समेत शुभ मानिन्छ । देशभर रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको थियो । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

यसै विश्वासका आधारमा आज सामुदायिक एवम् संस्थागत विद्यालयले पनि विधिपूर्वक सरस्वती देवीको पूजा, आराधना गरेका छन् । विद्यार्थी, शिक्षकलगायत विद्यालयमा जम्मा भई विधिपूर्वक सरस्वती देवीको पूजा, आराधना एवम् प्रार्थना गरी सरस्वती पूजा एवम् वसन्त पञ्चमी पर्वका रूपमा मनाएका छन् । यस अवसरमा आज बिहान ०७ : ५५ बजेको साइतमा हनुमानढोका दरबारस्थित नासलचोकमा वसन्त श्रवण पनि गरिएको थियो । रासस