• २१ माघ २०८१, सोमबार

७२ जना कन्याको सामूहिक बेल विवाह

blog

हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा सामूहिक बेल विवाहमा सहभागी कन्याहरू ।

राममणि दाहाल

मकवानपुर, माघ २१ गते । हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा सामूहिक बेल विवाह सम्पन्न भएको छ । ईहि यज्ञ (सुवर्ण कुमार बेल विवाह) गुठीले हेटौँडामा २०२९ सालदेखि सुरु गरेको सामूहिक बेल विवाहलाई यो वर्षपनि निरन्तरता दिइएको हो । 

यस वर्ष आइतबार र सोमबार दुई दिन नेवार समुदायका कन्याहरूको सामूहिक रूपमा बेल विवाह गरिएको छ । दुई दिन गरी यस वर्ष ७२ कन्याको सामूहिक बेल विवाह गरिएको गुठीले जनाएको छ ।

नेवार समुदायमा बेल विवाह महत्त्वपूर्ण कर्मको रूपमा रहँदै आएको छ । रजश्वला हुनुअघि कन्याको बेल विवाह गर्ने परम्परा अनुसार नेवार समुदायकै पण्डित, पुरोहितबाट बेल विवाह कर्म गराइएको हो। 

गुठीका अग्रज सदस्य हरिशरण श्रेष्ठले मौलिक परम्परा अनुसार कर्म गर्न, गराउन अभिभावकको सहजताका लागि सामूहिक बेल विवाह गर्दै आएको भन्दै ५३ औं वर्षसम्म सबैको सहयोग र विश्वासका कारण बेल विवाह कर्म गर्दै आइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सामूहिक बेल विवाहमा अभिभावकहरूले मकवानपुर जिल्लासँगै जिल्ला बाहिरका कन्यालाई समेत सहभागी गराउँदै आएका छन् ।