जयकृष्ण यादव
इनरुवा, माघ २१ गते । सुनसरीको कोशी गाउँपालिका ७ हरिपुरमा सम्पन्न वडाध्यक्ष क्रिकेट कप प्रतियोगिताको उपाधि भण्टाबारीले जितेको छ । सम्पन्न फाइनल खेलमा भोक्राहालाई ५ विकेटले पराजित गर्दै कोशी क्रिकेट क्लब भण्टाबारी दोस्रो वडाध्यक्ष क्रिकेट कप प्रतियोगिताको च्याम्पियन बनेको हो ।
फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ् गर्दै भोक्राहाले १८ औं ओभरमा अल आउट हुँदै ५९ रनको योगफल तयार पारेको थियो । ६० रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ् गरेको भण्टाबारीले १० औं ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
भण्टाबारीलाई च्याम्पियन गराउन सकिल अहमदले सर्वाधिक ४ विकेट लिए भने सहवाज आलम र आल्मिन आलमले २–२ विकेट लिनुभयो । खेलको म्यान अफ द म्याच भण्टाबारीका सकिल अहमद घोषित भए ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी समेत अहमद नै भए भने उत्कृष्ट बलर भण्टाबारीकै सहवाज आलम भए । विजेता तथा उपविजेता टिम तथा खेलाडीहरुलाई प्रमुख अतिथि कोशी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष लालदेव सदालगायतले पुरस्कार वितरण गर्नुभयो । विजेता भण्टाबारीले सिल्ड, पदकसहित नगद २५ हजार रुपियाँ पुरस्कार हात पारे भने उपविजेता भोक्राहाले ११ हजार पुरस्कार पाएको आयोजकले जनाएको छ । कोशी गाउँपालीका वडा नम्बर ७ को सहयोगमा एम्स युवा क्लबले आयोजना गरेको क्रिकेट प्रतियोगितामा विभिन्न आठ वटा टोलीको सहभागिता थियो ।