ढल्केबर समाचारदाता
ढल्केबर, माघ २१ गते । धनुषाको महेन्द्रनगरस्थित दुधमती मन्दिरमा प्रत्येक वर्ष सरस्वती पूजाको दिन मुण्डन मेला लाग्ने गरेको छ । दनुवार समुदायले सो मेला महोत्सवको आयोजना गर्दै आएका छन् । त्यस दिन दनुवार समुदायले आफ्नो बालबालिकाको पहिलो कपाल मुण्डन गरी दुधमती मन्दिरमा चढाउने चलन छ । परापूर्वकालदेखि सरस्वती पूजाकै दिन यस मन्दिरमा आएर दनुवार समुदायका बालबालिकाको कपाल मुण्डन गर्ने चलन रहेको स्थानीयको भनाइ छ ।
स्थानीय मनोज दनुवारका अनुसार यो परम्परा परापूर्वकालदेखि हालसम्म पनि चल्दै आएको छ । पूर्वजको सम्झनामा यहाँस्थित मन्दिरमा दनुवार समुदायका बालबालिकाको कपाल मुण्डन गरी चढाउने चलन रहेको उहाँले बताउनुभयो । देशभरका दनुवार समुदाय आआफ्नो बालबालिकाको कपाल मुण्डन गराउन यसै स्थानमा आउने गरेको उहाँको भनाइ छ ।
स्थानीय बासिन्दा मनोजले भन्नुभयो, “जहाँसुकै बसोबास गरे पनि दनुवार समुदायले आफ्नो कपाल मुण्डन गराउने ठाउँ यहीँ हो । यस दिन हजारको सङ्ख्यामा दनुवार समुदाय यहाँ आउने गरेका छन् । त्यसैले त्यस दिन मेला महोत्सवको आयोजना गरेर दनुवार समुदायको संस्कृति झल्किने कार्यक्रमसमेत गरिँदै आएको छ ।”
यो समुदाय परम्परागतकालदेखि नै बालकको पहिलो कपाललाई अशुद्धताको प्रतीक मानिन्छ । दुधमती मन्दिरमा मुण्डन गराई देवीलाई चढाएपछि बालकको जीवन पवित्र र शुभ हुने विश्वास यो समुदायमा रहँदै आएको छ । सरस्वती पूजा जस्तो पवित्र दिनमा मुण्डन गराउनुले धार्मिक आस्था र सांस्कृतिक झल्काउने गरेको छ । केही ऐतिहासिक, धार्मिक र सांस्कृतिक मान्यता भएकाले यो समुदाय पुस्तौँदेखि निरन्तर यसको पालना गर्दै आएको उहाँले बताउनुभयो ।
स्थानीय बबिता सिंहले दुधमती मन्दिर दनुवार समुदायको धार्मिक र सांस्कृतिक केन्द्रविन्दु भएको बताउनुभयो । उहाँका अनुसार यो स्थान दनुवार समुदायको पूर्वजप्रतिको श्रद्धा व्यक्त गर्ने थलोका रूपमा पनि परिचित छ । सरस्वती पूजाको दिन देशभरिका दनुवार यस मन्दिरमा भेला हुने गरेकाले सो अवसरमा दनुवार समुदायको संस्कृति झल्किने महोत्सवको पनि आयोजना गरिन्छ ।
उहाँले यो मुण्डन महोत्सवले समुदायका सदस्यलाई मात्र नभई अन्य स्थानीय बासिन्दालाई पनि जोड्ने काम गरेको जानकारी दिनुभयो । हरेक वर्ष आयोजना हुने यो महोत्सवले समुदायभित्रको एकता बलियो बनाउनुका साथै नयाँ पुस्तालाई परम्पराको महìव बुझाउन महìवपूर्ण भूमिका खेल्दै आएको उहाँको भनाइ छ ।