• २१ माघ २०८१, सोमबार

किशोरीलाई एचपिभी खोप अभियान

blog

अभिमुखीकरणमा उपस्थित विद्यालयका किशोरी । तस्बिर : छविलाल पाण्डे

बुटवल समाचारदाता

बुटवल, माघ २१ गते । रुपन्देहीका करिब ५९ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ । रुपन्देहीमा दुई चरणमा गरी सम्पन्न हुने खोप अभियानमा विद्यालय जाने कक्षा ६ देखि १० सम्मका र विद्यालयबाहिरका १० देखि १४ वर्ष उमेर समूहका गरी ५८ हजार ८९८ किशोरीलाई खोप अभियानमा सहभागी गराइने भएको हो ।

पहिलो चरणमा माघ २२ देखि २९ सम्म बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका, कञ्चन गाउँपालिका, गैडहवा गाउँपालिका, शुद्धोधन गाउँपालिका, सियारी गाउँपालिका र मायादेवी गाउँपालिकाका ३१ हजार ९५६ किशोरीलाई खोप लगाइने छ ।

त्यस्तै अभियानको दोस्रो चरणमा फागुन १ देखि ६ सम्म देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, कोटहीमाई गाउँपालिका, सम्मरीमाई गाउँपालिका र मर्चवारी गाउँपालिकाका २६ हजार ९४२ जना किशोरीलाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । कार्यालयका अनुसार अभियानका लागि रुपन्देहीमा ६८५ खोप केन्द्र तोकिएको छ । 

यसैबिच पाठेघरको क्यान्सरविरुद्धको एचपिभी खोप लगाएर जोखिमबाट बच्न किशोरीहरूसँग आग्रह गरिएको छ । सरकारले सञ्चालन गर्न लागेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोपबारे किशोरीलाई अभिमुखीकरणमार्फत जानकारी गराउन बुटवलमा बृहत् अभिमुखीकरण कार्यक्रम गरिएको छ । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले बुटवलमा विद्यालयका किशोरीहरूलाई शनिबार अभिमुखीकरणमार्फत पाठेघरको मुखको क्यान्सर रोक्न एचपिभी खोपको विषयमा जानकारी दिएको हो । 

अभिमुखीकरणमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नारायणबहादुर जिसीले पाठेघरको मुखको क्यान्सर, एचपिभी खोप तथा जोखिम न्यूनीकरण र प्रभावका बारेमा जानकारी दिँदै यो खोप लगाएर पाठेघरको मुखको क्यान्सरबाट सुरक्षित हुन किशोरीसँग आग्रह गर्नुभयो । 

जनस्वास्थ्य अधिकृत उमा थापाले पाठेघरको मुखमा हुने क्यान्सरका कारण हुने मृत्युलाई घटाउन यो खोप प्रभावकारी हुने बताउनुभयो । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीका सभापति खिमबहादुर हमालले पाठेघरको मुखमा हुने क्यान्सरका कारण धेरै महिलाले अकालमा ज्यान गुमाइरहेको अवस्थामा सरकारले त्यसविरुद्ध खोप अभियान सञ्चालन गरेकाले अभियान प्रभावकारी बनाउन किशोरीहरूलाई अभिमुखीकरण कार्यक्रममार्फत सचेत बनाउने काम गरिएको बताउनुभयो ।