गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २१ गते । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न नीतिगत सुधार गरिएको बताउनुभएको छ ।
महिला आर्थिक पत्रकार सङ्घले आइतबार आयोजना गरेको अर्थतन्त्र : नीति र व्यवहार विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी मुलुकमा लगानीको वातावरण सिर्जना गर्न अध्यादेशमार्फत कानुन ल्याइएको बताउनुभएको हो ।
अर्थतन्त्रका बाह्य सूचक सकारात्मक रहे पनि आन्तरिक अर्थतन्त्र दबाबमै रहेको भन्दै उहाँले आर्थिक गतिविधि सक्रिय बनाई लगानीको वातावरण सिर्जना गर्न अध्यादेशमार्फत कानुन ल्याएको जानकारी दिनुभयो । पुँजीगत खर्च भएन भनेर मात्र नहुने भएकाले कसरी भएन भन्ने विषयमा ध्यान दिन जरुरी रहेको बताउँदै उहाँले भन्नुभयो, “सार्वजनिक खरिद ऐन, वातावरण सम्बन्धित ऐनलाई सुधार गरेर पुँजीगत खर्च बढाउन लागिएको छ ।”
अब यसका लागि नियमन प्रभावकारी बनाउन आवश्यक रहेको उहाँको भनाइ छ । सरकारले नीतिगत सुधार गरी निजी क्षेत्रको मनोबल उच्च पार्ने काम गरेको बताउँदै अर्थमन्त्री पौडैलले भन्नुभयो, “निजी क्षेत्र उत्पादन वृद्धि, रोजगारी र पुँजी कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुन आवश्यक छ ।”
निर्माण व्यवसायीलाई अघिल्लो वर्षको भुक्तानी दिइसकेको अर्थमन्त्रीको भनाइ छ । अघिल्लो सरकारले बोकाएको भुक्तानी दायित्व सबै वर्तमान सरकारले पूरा गरेको उहाँले बताउनुभयो । अघिल्लो वर्षको दायित्व चालु आर्थिक वर्षको बजेटमार्फत भुक्तानी गर्नु पर्दा केही समय अप्ठ्यारो परे पनि अहिले अर्थ मन्त्रालयले त्यो दायित्व पूरा गर्न लागेको जानकारी दिनुभयो ।
घरजग्गा कारोबार चलायमान हुन नसक्दा समग्र अर्थतन्त्रमा परेको बताउँदै अर्थमन्त्री पौडेलले मापदण्ड पूरा गरेर नै बैङ्कले घरजग्गामा लगानी गरेका घरजग्गा कारोबार गर्ने व्यवसायीलाई मात्रै गाली गरेर अर्थतन्त्र सुधारको जिम्मेवारी पूरा हुन नसक्ने धारणा व्यक्त गर्नुभयो । घरजग्गा कारोबारमा भएको समस्या समाधान निजी क्षेत्र र सरकारको साझा विषय भएकाले सबै मिलेर समाधान गर्न जरुरी देखिएको उहाँको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घकी उपाध्यक्ष जोत्सना श्रेष्ठले आर्थिक विकासका नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो । सरकारले अध्यादेशमार्फत ल्याएका कानुनले लगानीमैत्री वातावरण बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ । मुलुकको अर्थतन्त्र चलायमान बनाउन सूचना प्रविधि, पर्यटन, कृषि क्षेत्रलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले अस्थिर सरकारको कारण अर्थतन्त्र शिथिलतामा आएको बताउनुभयो । समय समयमा हुने सरकार परिवर्तन, नीतिगत र कर्मचारी परिवर्तनले आर्थिक विकास विस्तार हुन नसकेको उहाँले बताउनुभयो ।
बाह्य अर्थतन्त्र राम्रो भए पनि आन्तरिक अर्थतन्त्र सुधार नहुँदा आर्थिक अवस्था सन्तोषजनक नभएको उहाँको भनाइ छ । सरकारले हालै अध्यादेशमार्फत कानुन ल्याए पनि नियमावली नबनेसम्म कार्यान्वयन आउन नसक्ने हुँदा जतिसक्दो चाँडो नियमावली बनाउन आवश्यक रहेको बताउनुभयो ।