• २९ फागुन २०८१, बिहिबार

सिमसार क्षेत्र साँघुरिँदै

blog

चितवन राष्ट्रिय निकुञ्जभित्रको सिमसार क्षेत्रमा चर्दै गैँडा । तस्बिर : शालिग्राम नेपाल

चितवन समाचारदाता

चितवन, माघ २१ गते । चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा रहेको सिमसार क्षेत्र मासिँदै जाने जोखिम वृद्धि भएको पाइएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका ६० वटाभन्दा धेरै सिमसार क्षेत्रमा मिचाहा प्रजातिका वनस्पतिका कारण क्षेत्र साँघुरिँदै गएको छ । 

निकुञ्ज आसपासमा रहेका सिमसार क्षेत्र पोखरी, घोल तथा पानीका स्रोत जलवायु परिवर्तन, मिचाहा प्रजातिका वनस्पति र मानवीय चापलगायतका कारण खुम्चिँदै गएको हो । सिमसार क्षेत्रको संरक्षणको विषयमा चासो भए पनि व्यक्ति तथा संस्थाले मात्र जोगाउन नसकिने अवस्था रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले बताउनुभयो । 

“पहिलेको अवस्थाभन्दा अहिले सिमसार क्षेत्र साँघुरिँदै गएको छ । हामीले यो विषयलाई स्विकार्नु पर्छ । जनचेतना फैलाउने, संरक्षणका उपाय अपनाउने कार्य हामीले गर्दै आएका त छौँ तर पर्याप्त भएको छैन,” प्रमुख संरक्षण अधिकृत डा. पन्तले भन्नुभयो । 

सिमसार क्षेत्रको संरक्षण कुनै व्यक्ति र संस्थाको मात्र दायित्व नभएर यो सबैको चासोको विषय हुने उहाँले बताउनुभयो । “चितवन निकुञ्ज तालैताल भएको क्षेत्रका रूपमा परिचित छ । यो परिचयलाई हामीले कायम राख्नु पर्छ । यहाँको यही प्राकृतिक कारणले विश्वमा लोप हुन लागेका जनावर पनि यहाँ बाँच्न सकेका छन् । तिनै जनावरका कारण हामीले विश्वमाझ परिचित गराउन सकेका छौँ,” डा. पन्तले भन्न्नुभयो । निकुञ्जको लामीताल, तमोर ताल, सुकिबारलगायत क्षेत्र एकसिङे गैँडाको वासस्थान हो । यी क्षेत्र सिमसार क्षेत्र हुन् । यहाँको ताल र पानी भएको दलदल क्षेत्रमा मिचाहा प्रजातिका वनस्पति छिटो हुर्कने गरेका कारण हामीले हरेक वर्ष उखल्ने गरेका छौँ । यो हाम्रो दायित्व पनि हो,” उहाँको भनाइ छ ।

निकुञ्जको बाहिरी क्षेत्र मध्यवर्तीमा रहेको बाटुली पोखरी, बिसहजारी ताल, राइनो ताल, टाइगर ताल, चेपाङ ताललगायतका दर्जनौँ ताल जलवायु परिवर्तन र मानीय चापको कारण साँघुरिँदै गएका छन् । यो क्षेत्रको संरक्षणमा निकुञ्जले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले बताउनुभयो । 

“संरक्षण भनेको सबैको हातेमालोमा हुने विषय हो । केही वर्षअगाडि बिसहजारी ताल वरिपरि धेरै प्रजातिका चरा पाइने गरेका थिए । अहिले त्यो सङ्ख्यामा कमी भएर बाटुली पोखरी क्षेत्रमा मात्र देखिन्छ । चरा कम देख्न थाल्नु भनेको सिमसार क्षेत्रमा मानवीय चाप वृद्धि भएको हुन सक्छ । तत्कालका लागि मानिसलाई रमाइलो लाग्ने र हेर्न जाने गतिविधि हुन्छ तर त्यसको प्रभाव पारिस्थितिक प्रणालीमा पर्न जान्छ,” उहाँले भन्नुभयो । संरक्षणले पारिस्थितिक प्रणालीलाई सन्तुलनमा ल्याउन मद्दत गर्छ । यसले गर्दा मानव, जनावर, वनस्पति सबैका लागि राम्रो हुने सूचना अधिकारी थापामगरले भन्नुभयो । 

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाशश ढुङ्गानाले सिमसार मात्र नभएर निकुञ्जको जनावर, वनस्पति र जैविक विविधताको संरक्षणमा लागिपरेको बताउनुभयो । सिमसार क्षेत्रलाई जोगाउन सके मात्र यस क्षेत्रका बासिन्दालाई फाइदा हुन्छ । सिमसार क्षेत्रले भरिएको निकुञ्ज र आसपासको क्षेत्रलाई संरक्षण गर्न व्यवस्थापन समितिले काम गर्दै आएको उहाँले बताउनुभयो ।