जनार्जन खत्री
सर्लाही, माघ २० गते । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सामुदायिक विद्यालयमा विद्यार्थीलाई नियमित गृहकार्य (होमवर्क) दिने र चेक गर्ने गरेमा पढाइको स्तर सुधार हुने बताउनुुभएको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका –३, भक्तिपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयको ६० औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित हीरक जयन्ती समारोहलाई सम्बाेधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो बताउनुुभएको हो ।
निजी विद्यालयमा पठनपाठनका विषयमा विद्यालय, शिक्षक र अभिभावकको अत्यधिक चिन्तन हुने गरे पनि सामुदायिक विद्यालयमा सबै पक्षले बेवास्ता गर्दा शिक्षाको स्तर माथि उठ्न नसकेको मुख्यमन्त्री सिंहको भनाइ छ ।
मुख्यमन्त्री सिंहले प्रत्येक सामुदायिक विद्यालयमा शिक्षकले नियमित गृहकार्य दिने र सो गृहकार्य विद्यार्थीले गरेर ल्याए–नल्याएको परीक्षण गरिदिए विद्यार्थीको पढाइ सुधार हुँदै जाने बताउनुभयो । सचेत समाज, जागरुक अभिभावक र इमानदार शिक्षक रहेको सामुदायिक विद्यालय पठनपाठनमा उदाहरणीय बन्दै गएको भन्दै मुख्यमन्त्री सिंहले सामुदायिक विद्यालयको सुधारका लागि सबैपक्ष जिम्मेवार र चिन्तित हुनुपर्ने बताउनुुभयो ।
दरबन्दीअनुसार शिक्षक नहुँदा मधेशमा अझ बढी समस्या रहेको मुख्यमन्त्री सिंहको भनाइ छ । उहाँले शिक्षकलाई चार महिनामा नभई महिनैपिच्छे तलब पाउने व्यवस्था मिलाउनु पर्नेमा जोड दिनुुभयो ।
प्रदेश शिक्षाको कमजोर अवस्थालाई मध्यनजर गर्दै यो वर्षबाट दलित, मुस्लिम, जनजाति र जेहेन्दार विद्यार्थीलाई प्रदेश सरकारले छात्रवृत्तिको व्यवस्था गरेको मुख्यमन्त्री सिंहले बताउनुुभयो ।
विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बाेधन गर्दै ईश्वरपुर नगरपालिका प्रमुख मनोजकुमार आचार्य, निवर्तमान नगरप्रमुख मनोजकुमार देवकोटा, पूर्व प्रतिनिधि सभा सदस्य प्रमोद साहलगायतले मुख्यमन्त्री सिंहलाई ईश्वरपुर नगरपालिकाको शिक्षा, कृषि, पयर्टनलगायतको क्षेत्रमा प्रदेश सरकारको तर्फबाट सहयोग गरिदिन अनुरोध गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम बडालको अध्यक्षतामा आयोजित समारोहमा सर्लाही क्षेत्र १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख लालमणि आचार्य, सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख कालिदास धौबजी, ईश्वरपुरका उपप्रमुख रन्जितादेवी चौधरी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विद्यालयका विद्यार्थी, थारू कलाकार र सिन्धुली कलाघरमा कलाकार लगायतको उपस्थितिमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक सीताराम दाहालले जानकारी दिनुुभयो ।