गोरखापत्र अनलाइन
काठमाडौं, माघ २० गते । नवलपरासीको पाल्हिनन्दन गाउँपालिका –५ स्थित राजनारायण माध्यामिक विद्यालयका प्रधानाध्यापक रेशमराज कण्डेलसहित ६ जनाविरुद्ध सेवाग्राहीसँग ६५ हजार रुपियाँ घुस लिएको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्रधानाध्यापक कण्डलेसहित विद्यालय सहायक (लेखापाल) सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहारको मिलेमतोमा भवन निर्माण अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग सो रकम लिएको पुष्टि भएको छ ।
यसैगरी, राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी, काठमाडौंमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाई, कार्यालय सहयोगी भवानी अधिकारी र विचौलिया सुदर्शन न्यौपानेविरुद्ध मिलेमतोमा सेवाग्राहीको नियमानुसार पेन्सनपट्टा (निबृत्तीभरण अधिकारपत्र) बनाइ दिनका लागि विभिन्न बहाना बनाइ तीन लाख रुपियाँ घुस लिएको पुष्टि भएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरूविरुद्ध जरिवाना सजाय हुन मागदाबी लिई आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाउनुभएको छ ।