• २० माघ २०८१, आइतबार

झापाको दमकमा तनाव सिर्जना

blog

दमकमा मुख्य सडकमा बन्दकर्ताहरू ।

बिष्णुप्रसाद पोखरेल

दमक, माघ २० गते । मुक्कुम्लुङ संरक्षण र केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिले आव्हान गरेको यातायात बन्दको क्रममा झापाको दमकमा आइतबार दिनभर तनाव सिर्जना भएको छ । दिउँसो १ बजेतिर आन्दोलनकारी आक्रोशित भएपछि प्रहरीले सामान्य बल प्रयोग गर्नु परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बन्द गराउदै हिँडेका आन्दोलनकारीहरूलाई पक्राउ गर्ने क्रममा झडप भएको र अवस्था तनावग्रस्त बनेको बताइएको छ । प्रहरीले दमक चोकबाट पदम बेघा,धनकुमार योङहाङ र शुक्र लिम्बूलाई पक्राउ गरेको छ । सवारी साधनको चाबी खोस्न खोजेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका कृष्णकुमार चन्दले बताउनुभयो । 

बन्दकर्तालाई नियन्त्रणमा लिन खोज्दा बन्दकर्ताहरूले प्रहरीमाथि ढुङ्गा हानेपको र ढुङ्गा प्रहारबाट मे १ च ५१६१ नं को स्कोरपियोसहितका सवारी साधनहरूमा क्षति पुगेपछि प्रहरीले बल प्रयोग गर्नु परेको बताइएको छ । प्रहरीले अवस्था सामान्य बनाउन केही सेल अश्रुग्यास प्रहार गरेको चन्दले जनाउनु भएको छ ।

तनावपछि दमकमा बाक्लो प्रहरी परिचालन भएको छ । शशस्त्र र जनपथ प्रहरीको बाक्लो उपस्थिति रहेको छ । विभिन्न ठाउँहरूबाट आन्दोलनकारीहरू पनि दमकमा केन्द्रित भएका छन् ।

मुकुम्लुङ अन्तरदलिय राजनीतिक पार्टीले माघ २० र २१ गते अरुणपूर्व नौ जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभामा यातायात बन्दको घोषणा गरेको थियो । झापामा यसको सामान्य प्रभाव परेको छ ।