• २० माघ २०८१, आइतबार

बोटे समुदायमा शिक्षालाई प्राथमिकता दिइने

blog

माझी समुदायको समस्या बुझन आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागी अतिथिहरु । तस्बिर : बिन्दु थापा

बिन्दु थापा
पाल्पा, माघ २० गते ।
तानसेन नगरपालिका १३ छेर्लुङका बोटे समूदायको शिक्षाका लागि विशेष पहल गरिने भएको छ । पढ्नबाट बञ्चित भएका, बिचमै पढाइ छाडेकाहरुलाई विद्यालय आउने वातावरण सिर्जना गर्ने सरोकारवालाले बताएका छन् । योसँगै नेपाल प्रेस युनियन र नेपाली कांग्रेसको पहलमा बोटे समूदायको उत्कृष्ट एक जनालाई ११ र १२ कक्षा निःशुल्क  पढाइने भएको छ ।

बोटे समुदायमा शिक्षाका कारण विभिन्न समस्या झेल्नु परेको बताउँदै यूनियन र कांग्रेस पाल्पाले समुदायको उत्थानका लागि शिक्षालाई प्राथमिकतामा राखेर काम गर्न थालेको कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले बताउनुभयो ।

नेपाल प्रेस यूनियन पाल्पा शाखाले माझी समुदायमा गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो बताउनुभएको हो । प्रेस युनियनले शनिबार तानसेन नगरपालिका– १३ छेर्लुङस्थित माझी समुदायमा पुगेर कार्यक्रम गरेको हो ।

कायक्रममा बोल्नुहुँदै तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले माझी समुदायका नागरिककाका साथमा हिजो पनि भएको र आज भोलि पनि सँगै रहने बताउनुभयो । श्रेष्ठले माझी समुदायका समस्यालाई समाधान गर्न निर्वाचित भएदेखि नै लागिपरेको बताउनुहुँदै सरकारकै पहलमा त्यहाँका कुलो व्यवस्थापन, मोटरबाटो निर्माण, लक्षित वर्गका कार्यक्रममा बजेट विनियोजन गर्दै काम हुँदै आएको बताउनुभयो ।

कार्यक्रममा माझी समुदायका नागरिकहरुले वर्षौदेखि नागरिकता नपाएको, घर जग्गा भए पनि आफुुहरुको नाममा नरहेको, माछा मार्ने र बोट चलाएर जिविकोपार्जन गर्दै आएको पेशा सङ्कटमा परेको, बालविवाह चुनौतिको विषय बनेको, बाटोघाटोको समस्या रहेको बताएका थिए । उनीहरुले माझी समुदायका समस्याहरुलाई उजागर गरिदिन पत्रकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

स्थानीय मोमबहादुर माझीले आफुहरुका समस्या समाधान गर्नका लागि पटक–पटक सम्बन्धित निकायलाई आग्रह गरे पनि सुुनुुवाइ नभएको गुनासो गर्नुभयो । तानसेन –१३ का वडा अध्यक्ष टुुकप्रसाद भट्टराई, कार्यक्रममा नेपाल ट्रेड युुनियनका जिल्ला सभापति निलकण्ठ देवकोटा नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष मुक्तिप्रसाद न्यौपाने, एकीकृत समाजवादीका वडा अध्यक्ष शेषकान्त भट्टराई, सामाजिक व्यक्तित्व रेवन्त बहादुर पाण्डे, सारदा माविका अध्यक्ष देवीप्रसाद भट्टराई लगायतले माझी समुदायका समस्याहरु समाधानमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने जानकारी दिनुभयो ।

नेपाल प्रेस युनियन पाल्पाका सभापति मन गहिरे, संस्थापक सभापति एवम् कांग्रेसका जिल्ला उपसभापति झपेन्द्र गहिरे, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, कार्यक्रम संयोजक तथा नेपाली कांग्रेसका वडा सभापति किशोर भट्टराईले, माझी समुदायका अगुवा मोम बहादुर, युनियनका उपाध्यक्ष रामचन्द्र रायमाझी, सहसचिव सन्तोष गहतराजले माझी समुदायका समस्या समाधनमा आफुहरु लाग्ने बताउनुभयो । 

माझी समुदायका समस्या समाधानका लागि  पत्रकारिताको माध्यमबाट पहल गर्ने र माझी समुदायका समस्याहरुलाई मिडियामार्फत उजागर गरी सम्बन्धित निकायलाई घच्घच्याउने धारणा व्यक्त गर्नुभयो । सोही अवसरमा  युनियनले पत्रकार महासंघका निर्वाचित सम्पूर्ण पत्रकारहरुलाई सम्मान समेत गरेको थियो ।