• २० माघ २०८१, आइतबार

दोलखामा फल्यो जुम्लाको स्याउ

blog

दोलखा समाचारदाता

दोलखा, माघ  २० गते ।  दोलखाको मेलुङ गाउँपालिका–४, फुर्केसल्लाका किसान रणबहादुर कार्कीले आफ्नो बगैँचामा पहिलो पटक जुम्लाको स्याउ फलाउनुभएको छ । रोपेको तीन वर्षमै असाध्यै आकर्षक दाना र स्वादिलो जुम्लाको स्याउ फलेको उहाँले बताउनुभयो । मेलुङ गाउँपालिकाले चार वर्षअघि फुर्केसल्लामा स्याउका बिरुवा वितरण गरेको थियो । तीमध्ये रणबहादुरले १५ वटा बिरुवा पाउनुभएको थियो । स्याउको बजार राम्रो छ भन्ने लागेर उहाँले थप बिरुवा जुम्लामा आफैँ पुगेर ल्याउनुभएको थियो । उहाँले भन्नुभयो, “जुम्ला पुगेर एक हप्ता बिताएँ । किसानका ठुलठुला फार्म घुमेँ । सामान्य तालिम पनि लिएँ र बिरुवा लिएर आएँ ।”

उहाँका अनुसार यस वर्ष ३० किलोग्राम स्याउ उत्पादन भएको छ । तत्काल बिक्रीका लागि नराखे पनि आगामी भदौदेखि बिव्रmीको योजना रहेको उहाँले जानकारी दिनुभयो । 

जोखिम मोलेरै अहिले चार सय बोट स्याउ रोपेको र ती सबैमा यस वर्ष दाना लागेको उहाँले बताउनुभयो । गाउँका धेरै युवा रोजगारी र व्यवसायका लागि विदेश र कतिपय सहरतिर लाग्दा कार्की भने गाउँमै खेतीमै रमाउनुभएको छ । स्याउन उत्पादनबाहेक उहाँले आलु, बन्दा, काँक्रो र खसीबोकासमेत उत्पादन गर्दै आउनुभएको छ । पालिकाले वडा नम्बर ४ का फुर्केसल्ला, जिम्बाटोल, तितेचौर तथा वडा नम्बर ३ का मुकुने तथा बाटुलेका पहिलो वर्ष ३५ किसानलाई मुस्ताङबाट ल्याएका स्याउका बिरुवा परीक्षणका लागि वितरण गरेको थियो ।

दोस्रो वर्ष जुम्लाबाट थप बिरुवा ल्याएर किसानलाई वितरण गरिएका स्याउका बिरुवा गोल्डेन, रोयल र फुजी जातका छन् । दुई वटा वडामा अहिले डेढ सय घरले अहिले स्याउ रोपेका छन् । अधिकांशले गाउँपालिकाले दिएको बिरुवा मात्रै रोपेका छन् भने कतिपयले जुम्ला र मुस्ताङबाट पनि बिरुवा ल्याएर आफैँले थपेका छन् । 

पहिलो वर्ष जस्तै आगामी वर्ष पनि फुर्केसल्ला स्याउमय हुने र व्यापारी गाउँमै खरिदका लागि आउने किसानको अपेक्षा रहेको छ । अबको उत्पादनका आधारमा किसानको माग अनुसार माथिल्लो क्षेत्रमा स्याउ विस्तार गर्न लगानी गर्ने योजना रहेको पालिका अध्यक्ष हिराकुमार थोकरले बताउनुभयो । फुर्केसल्ला समुद्र सतहदेखि २२ सयको उचाइमा पर्छ । स्याउका उत्पादनका लागि यसलाई उपयुक्त स्थान मानिन्छ ।