• १८ माघ २०८१, शुक्रबार

प्रयोगविहीन बन्यो ‘सेल्फी टावर’

blog

तम्घास समाचारदाता

तम्घास, माघ १८ गते । रेसुङ्गा नगरपालिका–७ को अर्जुनडाँडामा निर्माण गरिएको ‘सेल्फी टावर’ प्रयोगविहीन बनेको छ । धार्मिक तथा पर्यटकीय क्षेत्र अर्जुनमा लुम्बिनी प्रदेश सरकार उद्योग, वन तथा वातावरण मन्त्रालयको १४ लाख ४० हजार र उपभोक्ता समितिका तर्फबाट एक लाख ४४ हजार गरी १५ लाख ८४ हजार रुपियाँको लागतमा ‘सेल्फी टावर’ निर्माण गरिए पनि अहिले प्रयोगविहीन बनेको छ । 

पहिले संरचना निर्माणमा जोड दिने र पछि त्यसको सञ्चालनका साथै संरक्षणमा ध्यान नदिनाले निर्माण भएका संरचना प्रयोगविहीन बन्ने गरेका छन् । दीर्घकालीन रूपमा भन्दा पनि चर्चा कमाउन र क्षणिक समयका लागि बनाइएका संरचनाले सरकारको लगानी बालुवामा पानी जस्तै बन्ने गरेको छ । सेल्फी टावर अहिले धरापमा परेको र कसैको दृष्टि त्यहाँ नपुगेकाले नगरको कार्यपालिका बैठकमा घनीभूत छलफल भएको वडा नम्बर ७ का वडाध्यक्ष रामजी पन्थीले बताउनुभयो । 

सेल्फी टावरलाई थप सौन्दर्यीकरण गरी सञ्चालनमा ल्याउनका लागि लुम्बिनी प्रदेश सरकारसँग बजेट माग गरिएको उहाँको भनाइ छ । उहाँले प्रदेश सरकारबाट बजेट नआए नगरकै बजेटबाट भए पनि सञ्चालन गरेरै छाड्ने दाबी गर्नुभयो । 

नगरभित्र निर्माण भएका संरचनालाई संरक्षण गरी सञ्चालनमा ल्याउने दायित्व नगरको भएकाले प्रदेशले सहयोग नगरे पनि नगरको आफ्नै बजेटबाट सञ्चालनमा ल्याउने उहाँले बताउनुभयो । टावरबाट तम्घास बजारसहितको मनमोहक दृश्य देख्न सकिने भए पनि अवलोकनकर्ता खासै जाने गरेका छैनन् ।

टावरबाट एक पटकमा २० जनासम्मले अवलोकन गर्न सक्ने क्षमता रहेको छ । सेल्फी टावरसँगै अर्जुन क्षेत्रमा पुराना ऐतिहासिक मन्दिरलाई मर्मत र नयाँ संरचना निर्माण गर्न थालिएपछि अर्जुन क्षेत्रमा थप पर्यटकीय गन्तव्य बनाइएको छ तर त्यहाँसम्म पुग्नका लागि सडकको अवस्था राम्रो नभएकाले पनि अवलोकनकर्ताको रुचिमा कमी आएको हो ।

अर्जुन क्षेत्रमा यसअघि पर्यटकीय क्षेत्र बनाउन लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा प्रवेशद्वार, पानीको फोहोरासहितको पोखरी निर्माण, वनभोज जानेका लागि भवन निर्माण गरिएको थियो । निर्माण भएका संरचनासमेत अहिले टुटफुट हुन थालेका छन् । करिब दुई हजार मिटर उचाइमा रहेको अर्जुनडाँडा धार्मिक, ऐतिहासिक, पुरातात्त्विक र जैविक विविधताका लागि महत्वपूर्ण मानिन्छ । 

अर्जुनडाँडामा पाँच पाण्डवमध्येका अर्जुनको आगमनले यस लेकको नाम अर्जुन रहेको भन्ने मान्यता रहेको छ । अर्जुनले यसै गिरिमा बसेर गीताको तìव ज्ञानको साधना गर्नुभएको तथा भगवान् शिवले यसै स्थानमा ध्यान गर्नुभएको भन्ने जनविश्वास रहेको छ ।