काठमाडौँ, माघ १७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारी सञ्चार माध्यम समयसापेक्ष परिस्कृत गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल टेलिभिजनको ४०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चार मन्त्री गुरुङले जनताले सही सूचना पाए मात्र राष्ट्रिय एकता बलियो हुने बताउनुभयो । उहाँले सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) ले जनताको हितका लागि भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । पिएसबी कार्यान्यवन गर्न मन्त्रालयले नीतिगत र बजेटको व्यवस्था गर्ने उल्लेख गर्दै उहाँले यसका लागि कर्मचारीले कामको दायित्व बोध गर्नुपर्नेमा जोड दिनुभयो ।
“तपाईहरु काममा ध्यान दिनुहोस्, नीतिगत संरचना र बजेटको व्यवस्था गर्ने काम म गर्छु”, सञ्चार मन्त्री गुरुङले भन्नुभयो, “जनतालाई सहि र तथ्यगत सूचना दिनुहोस् ।”
पिएसबीको प्रभावकारीताका लागि आवश्यक बजेट, नीति र स्रोत जुटाउने उहाँले उल्लेख गर्नुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले नेपाल टेलिभिजन र रेडियो नेपाल गौरवमय इतिहास बोकेका सरकारी सञ्चार माध्यम भएपनि समय सापेक्ष परिस्कृत गर्नुपर्नेमा जोड दिनुभयो । त्यसै अनुरुप पिएसबी मोडल आएको र यसको भरपुर प्रयोग गरेर जनताको घर घरमा सूचना सेवा पुग्न सके मात्रै यसको सार्थकता सावित हुने बताउनुभयो ।
“तीन तहको सरकारबीचको अन्तरसम्बन्ध तथा यर्थाथ सूचना दिइ जनतालाई जागरुक गराउनु पिएसबीको मुख्य दायित्व हो”, सञ्चार मन्त्री गुरुङले भन्नुभयो ।
कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले पिएसबी आएपछि रेडियो नेपाल र नेपाल टेलिभिजनको संरचनागत पुनःमिलन गराउन बाँकी रहेको बताउनुभयो । संस्थाले कर्मचारीको व्यवस्थापन कसरी गर्छ रु भन्ने चिन्तालाई हटाएर सबैले निर्धक्कपूर्ण आ–आफ्नो जिम्मेवारी पुरा गर्न उहाँले आग्रह गर्नुभयो ।
“कर्मचारीलाई दुखी बनाएर कुनै काम हुँदैन”, उहाँले भन्नुभयो, “तपाईहरु मनमा कुनै चिन्ता नराखी ढुक्क भएर काम गर्नुहोस् । कसैप्रति अन्याय हुन दिदैँनौँ ।”
पिएसबीका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पर्याप्त बजेट, नीति, स्रोत र साधन भए पिएसबीको मान्यतालाई पूर्णरुपमा लागू गराइ प्रभावकारी बनाउन सकिने विश्वास दिलाउनुभयो । रासस