• १८ माघ २०८१, शुक्रबार

सिँचाइ गर्न किसानले बनाए बाँध

blog

सिँचाइका लागि स्थानीय किसान आफै मुर्गिया खोलामा निर्माण गरेको अस्थायी बाँध। तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, माघ १७ गते। धनुषाको धनुषाधाम नगरपालिका–९, मुर्गिया गाउँका किसान आफ्नै मिहिनेतले मुर्गिया खोलामा बाँध बाधेर खेतमा सिँचाइ गर्न थालेका छन्। सिँचाइ अभावले खेतबारीमा लगाएको बाली सुक्न थालेपछि यहाँका किसानले खोलाको बहाव थुनेर अस्थायी बाँध निर्माण गरी खेत सिँचाइ गर्न थालेका हुन्। 

स्थानीय किसान तेजिलाल यादवका अनुसार गाउँदेखि करिब एक किलोमिटर उत्तर मुर्गिया खोलामा माटो, बालुवा, बाँस, ढुङ्गा, र पातपतिङ्गरको प्रयोग गरी बाँध बाधेर जलाशय निर्माण गरिएको छ। जलाशयमा जम्मा भएको पानी पाइपको माध्यमले खेतसम्म पुर्‍याउने व्यवस्था मिलाइएको छ। स्थानीय बासिन्दा मिलेर बाँध निर्माण गरिएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “बाँध निर्माणले यहाँका करिब एक सय ५० बिघा खेतमा सिँचाइ गर्न पुगेको छ। सिँचाइको समस्या नभए हामी उत्पादन दुई गुण बढी बढाउन सक्छौँ।”

पूर्व वडाध्यक्ष सञ्जिव यादवका अनुसार अस्थायी बाँधबाट किसानलाई तत्काल राहत पाएका छन्। यसले तरकारी बालीदेखि मकै र गहुँजस्ता मुख्य बालीलाई पानी पुर्‍याउन सहयोग गरेको छ। गाउँलेको मिहिनेतले निर्माण भएको बाँधबाट किसानलाई ठुलो राहत मिलेको उहाँले बताउनुभयो। अहिले तरकारी खेतमा पर्याप्त सिँचाइको अभाव रहेको बताउँदै वडाध्यक्ष यादवले यसरी सिँचाइ नगर्ने हो भने यत्रो मिहिनेत गरेर लगाइएको तरकारी बाली त्यसै खेर जाने उहाँको भनाइ छ। 

अर्का किसान रामेश्वर साहले सिँचाइ सुविधा नभएकै कारण यहाँका खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने बाध्यता रहेको बताउनुभयो। केही वर्षदेखि आकाशे वर्षा कम हुँदा मकै गहुँलगायतका बालीको उत्पादनमा असर परेको भन्दै उहाँले अब यो बाँध निर्माणले सिँचाइ गर्न सहयोग पुगेको जानकारी दिनुभयो। 


स्थानीयको यो प्रयासले देखेर मधेश सरकारले मुर्गिया खोलामा स्थायी ड्याम निर्माणका लागि चासो देखाएको छ। मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव र धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले केही दिन अगाडि मुर्गिया खोलाको स्थलगत अनुगमन गर्नुभयो। 

अनुगमनका क्रममा धनुषाधाम नगरपालिकाका नगर प्रमुख मण्डलले अस्थायी बाँधले सरकारलाई सिँचाइको समस्याको गम्भीरताबारे सचेत गराएको बताउनुभयो। स्थानीयको सामूहिक प्रयास र पूर्व वडाध्यक्ष अथक प्रयत्नले मुर्गिया खोलामा स्थायी ड्याम निर्माणको बाटो खुलेको उहाँले जानकारी दिनुभयो।

खानेपानी मन्त्री यादवले ड्याम निर्माणका लागि यसवर्ष ८० लाख रुपियाँ बजेट छुट्याएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘यो सुरुवाती बजेट हो। यसलाई बहुवर्षीय योजनाका रूपमा अघि बढाएर आवश्यकता अनुसार बजेट थप्दै जान्छौँ।’ 


सभामुख मण्डलले स्थानीयको मेहनतले सरकारको ध्यान तान्न सफल भएको बताउनुभयो। उहाँले भन्नुभयो, “किसानले जुन सङ्घर्ष र मिहिनेत गरेका छन् त्यसले सरकारको ध्यान तान्न सफल भएको छ। ड्याम बनेपछि खेती, आम्दानी र जीवनस्तर सबैमा सुधार आउनेछ।”