• १७ माघ २०८१, बिहिबार

असल कर्म नै सहिदप्रतिको सम्मान हो : मुख्यमन्त्री पाण्डे

blog

गण्डकी प्रदेश सरकारद्वारा सहिद दिवस –२०८१ का अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायत उच्च पदस्थ व्यक्तित्व।रमेश पौडेल

रमेश पौडेल  

पोखरा, माघ १६ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले असल कर्म र व्यवहार नै मुलुक र सहिदप्रतिको सच्चा सम्मान हुने बताउनुभएको छ।गण्डकी प्रदेश सरकारद्वारा बुधबार सहिद दिवस –२०८१ का अवसरमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो। 

राष्ट्र बैंकचोकस्थित सहिद पार्कमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रजातन्त्रको जग बसाउन इतिहासका विभिन्न कालखण्डमा आफ्नो प्राणको आहुुती दिनुुभएका महान सहिदको स्मरण गर्नुभयो।

मुख्यमन्त्री पाण्डेले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको अपेक्षा पूरा गर्नतर्फ अग्रसर भएर कार्य गर्नुु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो।उहाँले राष्ट्रिय एकतालाई अझै बलियो र सृदृढ बनाउन प्रदेश सरकार निरन्तर प्रयासरत रहेको उल्लेख गर्नुभयो।उहाँले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि सहिदको बलिदानीले प्राप्त नागरिक स्वतन्त्रताको प्रत्याभूति, लोकतन्त्रका मूलभूत मान्यता, सङ्घीयताको सही कार्यान्वयनमा गण्डकी प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको समेत बताउनुभयो।

उक्त कार्यक्रममा पूर्वमुख्यमन्त्री, मन्त्री, सांसद, उच्च पदस्थ कर्मचारी, राजनीति दलका नेता, सुरक्षा निकाय प्रमुख, उद्योग व्यवसायी एवं पत्रकार सहभागी थिए।