• १७ माघ २०८१, बिहिबार

योजना चाँडो सम्पन्न गर्न निर्देशन

blog

अनुगमनका क्रममा मन्त्री प्रकाशबहादुर केसी । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, माघ १६ गते। गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले  निर्माणाधीन दुई योजनाको अनुगमन गर्नुभएको छ ।शुक्लागण्डकी नगरपालिकाको योजनाको अनुगमन गर्नु भएको हो।

लामो समयदेखि निर्माणमा ढिला भइरहेको गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक अन्तर्गत दुलेगौंडा हर्कपुर मोटरमार्ग र वडा नम्बर ५ र ८ जोड्ने सेती नदीमाथि निर्मित मोटरेबल पुलको बुधबार उहाँले अनुगमन गर्नुभएको हो।

गण्डकी प्रदेशका पूर्व आर्थिक मामिलामन्त्री किरण गुरुङ, मन्त्रालयका सचिव कमल कुमार अधिकारीसहित पुग्नुभएका उहाँले  सरकारकोतर्फबाट कुनै समस्या भए सहजीकरण गर्न तयार रहेको बताउँदै तत्काल कामदार बढाएर प्रगति बढाउन आग्रह गर्नुभयो।

२०५२ सालमा ट्रयाक खोलिएको दुलेगौडा–हर्कपुर सडक १०.१८ किलोमिटर सडक कालोपत्रका लागि वि.सं. २०७६ कात्तिक ४ गते सम्झौता भएर २०७६ साल मंसिर २४ गते शिलान्यास गरिएको थियो।२०७८ माघ १० गते भित्र सम्पन्न हुनुपर्ने सडक पटकपटक म्याद थप गरिएको छ। 

आगामी असारसम्म म्याद रहेको उक्त खण्डको प्रगति हालसम्म ४१ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रविन्द्र तिवारीले बताउनुभयो।

उक्त खण्ड कालोपत्रका लागि एमएस शंकरमाली निर्माण सेवाले २५ करोड १० लाख ६० हजारमा सम्पन्न गर्ने गरी सम्झौता गरेको हो।

शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ।पहिलो चरणमा १० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको हो।ट्रयाक खुलेको २४ वर्षपछि स्तरोन्नती सुरु हुँदा स्थानीयवासी खुसी भएका थिए।तर कामको प्रगति नहुँदा स्थानीवासीले चुनावको बेला मात्र सडकको विषय बनाउने गरेको भन्दै टिप्पणी गर्ने गरेका छन्।

दुलेगौंडा हर्कपुर मोटरमार्ग उपभोक्ता समितिका पूर्व अध्यक्ष देउबहादुर गुरुङले यस क्षेत्रकै सबैभन्दा पुरानो सडक समयमै सम्पन्न नहुँदा स्थानीय र यात्रुले धुलो र हिलोको मार खेपेको भन्दै ध्यानाकर्षण गराउनुभयो। 

निर्माण व्यावसायी श्याम लामाले कोभिडसँगै निर्माण कम्पनीलाई आर्थिक रुपमा नोक्सान परेको बताउँदै आर्थिक समस्याका कारण काम सम्पन्न गर्न समस्या परेको बताउनुभयो। 

यसैगरी, शुक्लागण्डकी–५ र ८ स्थित बेलचौतारा–मुस्ताङ क्याम्प जोड्ने मोटरेबल पुलको कामले गति नलिएको भन्दै उपभोक्ता समितिले मन्त्री केसीलाई ध्यानाकर्षण गराएको छ।

कामको प्रगति करिब ३० प्रतिशत मात्र छ।२०७७ मंसिर २४ मा मूल्य अभिवृद्धिसहित १५ करोड ५९ लाख रुपियाँमा पुल निर्माणका लागि महाविर खिम्ती अञ्जना पराजुली जेभीले सम्झौता गरेको हो।

निर्माण कम्पनीलाई हालसम्म ८ करोड १३ लाख भुक्तानी भइसकेको छ। पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख तिवारीले कार्यालयकोतर्फबाट काम गर्न कुनै समस्या नरहेको प्रष्ट पार्नुभयो।

मन्त्री केसीले मन्त्रालय अन्तर्गतका लामो समयसम्म सम्पन्न नभएका समस्याग्रत योजनालाई आफूले चाँडै सम्पन्न गर्नतर्फ केन्द्रित गरेको बताउनुभयो।समयमै विकास निर्माणका योजना सम्पन्न नहुँदा जनताले दुःख पाउने गरेको बताउँदै उहाँले योजनालाई आर्थिक अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।