• १ चैत २०८१, शुक्रबार

शैक्षिक महोत्सवमा रैथाने सीप प्रदर्शन

blog

शेरबहादुर राई

ओखलढुङ्गा, माघ १६ गते । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–५ को भगवती माध्यमिक विद्यालयका विद्यार्थीहरू मङ्गलबार अन्य दिन भन्दा व्यस्त देखिन्थे । अरू दिन पढाइमा व्यस्त हुने विद्यार्थीहरू यस दिन पराम्परागत गाउँ घरका रैथाने सामाग्रीहरू उत्पादन गर्नमा व्यस्त थिए । 

कोही मकैको खोस्टाबाट पीरा बुन्दै थिए भने कोही परालको गुन्द्री बुन्दै थिए । कोही सेल रोटी पकाउँदै गरेको अवस्थामा थिए भने कोही विद्यार्थीहरू समुहमा हलो जुवा बनाउँदै थिए । विद्यालयको एक छेउमा केही विद्यार्थी आकर्षक चित्र कोर्दै त्यसमा रङ भरिरहेका भेटिन्थे । 

मानेभन्ज्याङ गाउँपालिकाको आयोजनामा माघ १६ देखि १९ गतेसम्म भगवती माध्यमिक विद्यालयमा हुने शैक्षिक महोत्सवका लागि सामग्री उत्पादनमा विद्यार्थीहरूको दोडधुप देखिन्थ्यो । जिल्लामै पहिलो पटक मानेभन्ज्याङ गाउँपालिकाले शैक्षिक महोत्सवको आयोजना गरेको हो । महोत्सवमा विद्यार्थीले रैथाने सीपको प्रदर्शन गरेका छन् । 

किताबी ज्ञान मात्र नभएर विद्यार्थीलाई व्यवहारिक सिपको पनि महत्त्व बुझाइ उनीहरूको सर्वाङ्गीण विकासका लागि गाउँपालिकाले शैक्षिक महोत्सव आयोजना गरेको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बतानुभयो । बालबालिकाको सीप, कला र क्षमतालाई प्रदर्शन गराउँदै व्यवहारिक शिक्षमा प्रोत्साहन गराउने उद्देश्यले शैक्षिक महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष रुम्दालीले जानकारी दिनुभयो । 

महोत्सवमा भगवती माध्यमिक विद्यालय सहित पालिका भित्रका १८ वटा माध्यमिक तहका विद्यालयहरू सहभागी भएका छन् । महोत्सवमा विद्यार्थीले बनाएका स्थानीय खाद्य परिकार, व्यवहारिक सीप हस्तकलाका परम्परात सामग्री, चित्रकला, विज्ञान तथा प्रविधि प्रदर्शनी, रैथाने वस्तु बिक्री केन्द्र, शैक्षिक सामाग्री बिक्री केन्द्र, सामुहिक लोक नृत्य, चित्रकला र हस्तलेखन पतियोगिता समेत हुने गाउँपालिकाले जनाएको छ । 

सम्पूर्ण विद्यालयलाई एकिकृत रूपमा समेटेर बृहत् रूपमा शैक्षिक महोत्सव आयोजना गरिएको र यसले विद्यालयमा जीवनोपयोगी, व्यवहारिक शिक्षाको महत्त्व बढ्ने अपेक्षा पालिकाले लिएको छ ।