• १७ माघ २०८१, बिहिबार

गोरखामा दस हजार बढी छात्रालाई एचपिभी खोप लगाइने

blog

गुणबहादुर रोका 

सुलीकोट, माघ १६ गते । गोरखामा दस हजार बढी छात्रालाई पाठेघरको मुखमा हुने क्यान्सार विरुद्धको एचपिभी खोप लगाइने भएको छ । जिल्लाभरिका ११ वटा पालिकाभित्र रहेका कक्षा ६ देखि १० कक्षासम्म अध्यानरत विद्यार्थीलाई लक्षित गरी यहि माघ २२ गतेबाट गोरखामा एचपिभी खोप लगाइने भएको हो ।

कक्षा ६ देखि १० सम्म अध्यानरत किशोरीहरूलाई लक्षित गरी आउँदो माघ २२ गतेबाट फागुन ६ गतेसम्म एचपिभी खोप सम्बन्धी अभिमुखीकरणले जनप्रतिनिधीदेखि अभिभावकहरूमा एकरूपता ल्याउनका लागि अभिमुखीकरण कार्यक्रम सबै जिल्ला तथा पालिकास्तरिय अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखााका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार एचपिभी खोप पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि जिल्लाभित्रका दस हजार २६८ जना १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई २०५ वटा खोप केन्द्रबाट २०५ जना स्वास्थ्कर्मी तथा ४१० जना स्वयसेबकको सहयोगमा एचपिभी खोप लगाइने उहाँले बताउनुभयो । अहिले जिल्लाभित्रका विद्यालयमा अध्ययनरत किशोरीहरूलाई विद्यालयमा पुगेर माघको २२, २३ र २४ गते एचपिभी खोप दिने भएको छ भने विद्यालय बाहिर भएका ५४ जना १० वर्षदेखि १४ वर्ष उमेर समुहका किशोरीहरूलाई सम्बन्धित पालिकाको संस्थागत क्लिनकमा खोप लगाउने व्यवस्था भएको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । 

जिल्लामा भएको ११ वटै पालिकाहरूदेखि जिल्ला खोप समन्वय समिति, वडा खोप समन्वय समिति लगाएत सबैलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको बताइएको छ । विद्यालयका शिक्षक शिक्षिकाहरूलाई समेत अभिमुखीकरण भइसकेकोले जिल्लाभित्र रहेका २०५ वटा खोप केन्द्रमा माघ २० गते अगाबै खोप पठाइसक्ने प्रदेश स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

यसैबिच खोप कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्ला स्तरिय खोप समन्वय समितिको अभिमुखी कार्यक्रम सम्पन्न भइसकेको छ । जनप्रतिनीधीहरूलाई सकारत्माक बहस, पैरबी, प्रचार प्रसार रस सामाजिक परिचालनको लागि प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले आग्रह गरेको छ ।

जिल्ला स्तरिय अभिमुखी कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख लिला परियार, प्रमख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल, जिल्ला अस्पताल गोरखामा प्रमुख सुपरी टेन्डन सिदार्थ खनाल, स्थानिय तहका जनप्रतिनिधी  तथा पत्रकारहरूको उपस्थिती थियो ।