• १८ माघ २०८१, शुक्रबार

सुन्तला खेतीबाट वार्षिक ४२ करोड आम्दानी

blog

बिक्रीका लागि तनहुँको सदरमुकाम दमौलीमा झारिएको सुन्तला । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, माघ १६ गते । तनहुँका किसानले यस वर्ष सुन्तला बिक्री गरेर ४२ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन् । सुन्तला बेचेर ४२ करोड ५० लाख रुपियाँ कमाएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार गत वर्षको तुलनामा २ करोड ५० लाख रुपियाँ बढी सुन्तला बिक्रीबाट आम्दानी गर्न सफल भएका छन् । पाँच हजार आठ सय ३१ मेट्रिक टन सुन्तला बिक्री गरेर सो रकम आम्दानी गरेको कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो ।  

किसानले बजारमा औसत थोक मूल्य ७३ रुपियाँ प्रतिकिलो बिक्री गरेको उहाँ बताउनुहुन्छ । सुन्तला खरिदका लागि व्यापारी किसानको बगैँचासम्म पुग्ने भएकाले बजारको समस्या नभएको केन्द्रले जनाएको छ । गत आर्थिक वर्ष २०८०-०८१ मा तनहुँका किसानले झन्डै ४० करोड रुपियाँ सुन्तला बिक्रीबाट हात पारेका थिए । आर्थिक वर्ष २०७९-०८० मा जिल्लाका किसानले सुन्तला बिक्री गरेर २९ करोड आम्दानी लिएका थिए । 

गत आर्थिक वर्ष २०८०-०८१ मा यहाँका किसानले ४० करोड रुपियाँ हात पारेका छन् । केन्द्रले सुन्तला खेती कृषकलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । कृषकलाई प्रोत्साहन गर्न बगैँचामै पुगेर पनि आवश्यक परामर्श दिइने गरिएको छ । कार्यालयबाट सुन्तला खेतीका लागि क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत अनुदान दिन थालेपछि बर्सेनि जिल्लामा सुन्तला खेती विस्तार हुँदै गएको केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले बताउनुभयो । 

लामिछानेका अनुसार जिल्लामा हाल आठ वटा ब्लकमा सुन्तला खेती हुँदै आएको छ । ब्लक बन्नको लागि न्यूनतम ७० हेक्टर क्षेत्रफल हुनुपर्ने प्रावधान रहेको छ । ब्लकमा सुन्तला खेती गर्न चाहने किसानले व्यक्ति,समूह र सहकारी मार्फत कलष्टर बनेर आउनुपर्ने व्यवस्था रहेको छ । ब्लकमा सुन्तला खेती गर्न चाहने किसानले व्यक्ति, समूह र सहकारी मार्फत कलष्टर बनेर आउनु पर्ने प्रावधान रहेको छ । जिल्लाको व्यास नगरपालिका, म्याग्दे, भीमाद, आँबुखैरेनी, ऋषिङ, शुक्ल गण्डकी र बन्दीपुर गाउँपालिका सुन्तला खेतीका लागि पकेट क्षेत्रको रूपमा रहेका छन् ।

खाल्टो खन्न, सिँचाइको लागि पोखरी बनाउन, अनावश्यक हाँगाहरू काट्ने मेसिन तथा घरदैलोमा नै पुगेर प्राविधिक ज्ञान दिने गरिएको लामिछानेको भनाई छ । यहाँ उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । 

काठमाडौँका अलवा पोखरा, नारायणगढ, विराटनगर लगायत ठुला सहरमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै आँबुखैरेनी, डुम्रे, दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायतका स्थानीय बजारहरूमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको केन्द्रले जनाएको छ ।