काठमाडौँ, माघ १६ गते । बालसाहित्यकार स्व. जनकप्रसाद हुमागाईंलाई बालसाहित्य रत्न शान्तदास स्मृति सम्मान प्रदान गरिने भएको छ । समालोचक तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक महेश पौड्यालको संयोजकत्वमा गठित समितिले हुमागाईंलाई मरणोपरान्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
शैली थिएटरले २०८० सालमा स्थापना गरेको सम्मान मरणोपरान्त हुमागाईंलाई प्रदान गर्न लागिएको थिएटरका अध्यक्ष रङ्गकर्मी तथा निर्देशक नवराज बुढाथोकीले जानकारी दिनुभयो । उहाँका बालकृतिमा ‘बाआमाको माया’, ‘गुनिला पाँच बालकथा’, ‘गोकुलकी आमा कसरी निको भइन् ?’, ‘मालतीको यात्रा वर्णन’, ‘भाइबहिनीका कथा’, ‘नेपाली बालसाहित्य’, ‘चम्पा र मायालु काका’, ‘लहरे पिपलको कथा’, ‘नानी पढ्छ’, ‘दिदीभाइको माया’ आदि प्रकाशित छन् ।
थिएटरले १६ औँ राष्ट्रिय बालनाटक महोत्सव एवं लघु बालचलचित्र प्रदर्शनी उद्घाटनका अवसरमा पुरस्कार वितरण गरिने महोत्सवका कार्यक्रम प्रमुख किशोर अनुरागले बताउनुभयो ।