पोखरा, माघ १५ गते । पोखरामा ‘घुमौं मधेश, बुझौं मधेश’ को व्यापक प्रचार गरिएको छ । पोखरामा आयोजित महोत्सवमा मधेश प्रदेशका पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा खानपिन संस्कृतिको व्यापक प्रचार गरिएको हो ।
पोखरामा यही माघ १० गतेदेखि जारी ३३ औं औद्योगिक व्यापार मेला एवम् आइटी महोत्सवमा–२०८१ मधेश चिनाउने काम भइरहेको ‘घुमौं मधेश, बुझौं मधेश’ का कार्यक्रम संयोजक विकास ठाकुरले जानकारी दिनुभयो ।
‘‘यो महोत्सवमा स्टल राखेपछि पोखरावासीहरूले मधेश घुम्ने इच्छा व्यक्त गर्नुभएको छ,’’ उहाँले भन्नुभयो, ‘‘मधेशका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका बारेमा बुझाउने काम भइरहेको छ, धेरैजना उत्साहित हुनुभएको छ ।’’
उहाँका अनुसार ‘घुमौं मधेश, बुझौं मधेश’ को स्टल नम्बर १ बाट मधेशमा रहेका धार्मिक, सांस्कृतिक, पर्यटकीय क्षेत्रबाट जानकारी दिइएको छ भने स्टल नम्बर ४ बाट रौतहटको कटिया र बरमझियाको पेडाको स्टल राखेर खानाको स्वाद पनि दिइरहेको छ । चन्द्रपुर उद्याेग वाणिज्य सङ्घका उदय सापकोटा सुरेनले स्टल व्यवस्थापन गरेका छन् ।
‘‘मधेशका बारेमा धेरै चासो व्यक्त गरेको देखिन्छ, धेरैले मधेश घुम्नुपर्नेमा जोड दिइरहेका छन्,’’ उहाँले भन्नुभयो, ‘‘यो हाम्रो लागि उपलब्धि हो ।’’
मधेश प्रदेश सरकार, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको कार्यक्रम ‘घुमौं मधेश बुझौं मधेश’ को स्टलमा हालसम्म हजारौं मानिसले अवलोकन गरेका छन् भने आगुन्तकहरूलाइ नेपाली र अङ्ग्रेजी दुबै भाषामा प्रकाशित बुकलेट पनि वितरण गरिएको छ ।
सो महोत्सवको उद्घाटन नै मिथिलाको झिंझिया र थारू नृत्यबाट सुरू भएकाले नि पोखराले मधेशलाई महत्त्व दिएको उहाँले बताउनुभयो । ‘‘पोखरा महोत्सवको उद्घाटनबाट नै जुन खालको मधेशको चिनारी गराउने कार्य भयो, यसले हिमालको काखमा रहेकाहरूलाइ मधेशको समथर भूमिमा भ्रमण गर्न उत्साहित र प्रेरित गरेको छ ।’
त्यसो त गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले पनि हिमाल, पहाड र मधेश जोड्नका लागि यस्ता कार्यक्रमको विशेष भूमिका रहने जानकारी दिनुभयो । ‘‘हिमालका काखमा रहेकाहरू मधेशको समथर भूमिमा जानु पर्छ, मधेशका समथर भूमिमा रहेकाहरू हिमालको काखमा पुग्नुपर्छ, यसले दुवैतर्फका जनताले सांस्कृतिक तथा अन्य कुराहरू सिक्न र देख्न पाउनेछन् ।’’ मुख्यमन्त्री पाण्डेले सांस्कृतिक आदानप्रदानका कार्यक्रमहरू दुवैतर्फ गरिनुपर्नेमा पनि जोड दिनु भएको छ ।
दर्शकको चाप बढेपछि माघ १७ गतेसम्मका लागि भनिएको महोत्सव अब माघ १९ सम्म जारी रहने छ ।