• ११ वैशाख २०८२, बिहिबार

राष्ट्रिय सहकारी नियमन प्राधिकरणका पदाधिकारीद्वारा शपथ

blog

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलाराम अधिकारी राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष अर्जुनप्रसाद पोखरेलसहित तीन जना सदस्यलाई शपथ गराउनुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, माघ १४ गते । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्राधिकरणका अध्यक्ष अर्जुनप्रसाद पोखरेलसहित तीन जना सदस्यलाई सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलाराम अधिकारीले शपथ गराउनुभएको हो ।

सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्याहरूको समाधानका लागि अध्यादेशमार्फत सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्दै राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरेको हो । प्राधिकरणको केन्द्रीय कार्यालय ललितपुरको पुल्चोकमा स्थापना गरिएको छ ।

प्राधिकरणको काम कारबाहीको सम्बन्धमा नेपाल सरकारले आवश्यक निर्देशन दिन सक्नेछ । प्राधिकरणलाई सहकारीको दर्ता, नियमन र सुपरीवेक्षण गर्न निर्देशिका बनाउने, बचत रकम हिनामिनाको उजुरीउपर कारबाही गर्ने, जिल्ला न्यायाधीशसरहको अधिकार हुने बताइएको छ ।

प्राधिकरणका सदस्यहरूलाई शपथ गराउँदै मन्त्री अधिकारीले सफल कार्यकालको शुभकामना दिनुभयो । उहाँले प्राधिकरणमा कर्मचारी नियुक्तिदेखि अन्य आवश्यक कामहरू छिटो सम्पन्न गरिसक्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

सहकारी नियमन प्राधिकरणले प्रदेश र स्थानीय तहका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको प्रदेश र स्थानीय तहसँग समन्वय गरी संयुक्त रूपमा अनुगमन, नियमन तथा सुपरीवेक्षण गर्ने बताइएको छ ।