गुणबहादुर रोका
सुलीकोट, माघ १४ गते । झलुङगे पुल निर्माण सम्पन्न भएपछि पाँच घण्टा लाग्ने बाटो छोटिएर दुई घण्टामा पुगिने भएको छ । उत्तरी गोरखाको धार्चे गाउँपालिका २ र ३ नम्बर वडाको रुन्चेत र लुसिकाङ भन्ने ठाउँको बुढीगण्डकी नदी माथिको १२२ मिटर लामो झलुङगे पुल निर्माणले पाँच घण्टा लाग्ने बाटो अब दुई घण्टामै पुगिने भएको हो ।
पुल निर्माण सहयोग गर्ने कादुरी संस्था हङकङका डिरेक्टर पिटर, कादुरी संस्था पोखरका एन्ट्रोमिल सोहि सस्थाका टेक्निकल डाइरेटर नारायण गुरुङको र धार्चेवासीको बाक्लो उपस्थितिमा धार्चे गाउँपालिका उपाध्क्ष्य सुुनिला गुरुङले आइतबार एक कार्यक्रमका बिच झलुङगे पुलको उद्घाटन भएको हो ।
धार्चे गाउँपालिका वडा नम्बर ३ लुसिकाङ र वडा नम्बर २ को रुन्चेतलाई झलुङगे पुलले जोडिएपछि सो क्षेत्रका सयौं स्थानिय खुशी भएका छन् ।
पुल निर्माण हुनुभन्दा अघि स्थानीयहरु केरौजां बेशी, लामावेशी हुँदै माछा खोला झर्नु पर्दथ्यो । कादुरी एग्रीकल्चरल एण्ड एशोसियन ब्रिटिश गोर्खाज नेपालको एक करोड ३३ लाख ९४ हजार सात सय ५२ रुपियाँ ३८ पैसा लागतमा पुल निर्माण गरेको हो ।
त्यसमध्येमा स्थानीय २ वटा वडाको स्थानियहरुले एक लाख ७६ हजार जुटाएर पुल निर्र्माण भएको हो । १२२ मिटर लामो उक्त पुल निर्माण भएसँगै करीब तीन हजार स्थानियहरुलाई माछा खोला आरुघाट र जिल्ला सदरमुकाम आउन सहज हुने भएको छ ।
सहयोगी संस्थाले कादुरीले पुल निर्माणका लागि बजेट मात्र दिएकाले लुसिकाङ तर्फको जग्गा व्यक्तिको भएकाले सबै स्थानियहरु मिलेर चन्दा उठाएर एक लाखमा जग्गा किनेर पुल निर्माण गरिएको धार्चे गाउँपालिका – २ का वडा अध्यक्ष सरोज गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुल निर्माण भएसँगै जोखिम युक्त बाटो हिँड्नु पर्ने बाध्यता हटेको छ भने रुन्चेतबाट बेनिघाट आरुघाट लार्के सडक खण्डमा पुग्ने छोटो दूरी भएको उहाँले बताउनुभयो । पुल निर्माण भएसँगै उत्तरी गोरखाका तीन हजार स्थानीयहरु हर्षित भएका छन् ।