• १५ माघ २०८१, मङ्गलबार

बाघ खोज्न चार स्थानमा क्यामेरा जडान

blog

फाइल तस्बिर ।

नेपालगञ्ज,  माघ १४ गते ।  बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि बाघ खोज्न सुरु गरिएको छ । महिलालाई आक्रमण गर्ने बाघले अन्य मानिसलाई पनि आक्रमण गर्ने सम्भावना रहेकाले खोजी सुरु गरिएको राप्तीसोनारी सब डिभिजन वन कार्यालय, शमशेरगञ्ज बाँकेले जनाएको छ । 

सो कार्यालयका प्रमुख मनोज शर्माले भगवती सामुदायिक वन क्षेत्रमा बाघको खोजीका लागि चार स्थानमा चार क्यामेरा जडान भएको जानकारी दिनुभयो । बाघ र चितुवाजस्ता हिंस्रक जनावरले आक्रमण गर्न थालेपछि त्यसको तथ्य पत्ता लगाउन क्यामेरा जडान गरिएको उहाँको भनाइ छ । 

“जडान गरेको केही दिन भएको छ, तर अहिलेसम्म केही देखिएको छैन”, उहाँले भन्नुभयो । निकुञ्ज वरिपरिका बासिन्दालाई बाघसँग सचेत र सजग रहन आग्रह गरिएको पनि प्रमुख शर्माले बताउनुभयो । क्यामेराको सहयोगले बाघबारे सही जानकारी हासिल हुने उहाँको भनाइ छ ।  

बाँकेको राप्तिसोनारी गाउँपालिका भगवती सामुदायिक वनमा जङ्गली बाघको आक्रमणमा परी एक महिलाको ज्यान गएपछि सो वन क्षेत्रमा क्यामेरा जडान गरिएको भगवती सामुदायिक वनका अध्यक्ष टीकाराम वलीले बताउनुभयो । गत बुधबार राप्तीसोनारी गाउँपालिका –८ की ६७ वर्षीया चेती बुढाको  बाघको आक्रमणबाट मृत्यु भएको थियो । 

स्थानीयका अनुसार सो जङ्गलमा यसअघि बाघ नदेखिएको तर बँदेल, चित्तल, जरायो भने देखिने गरेको थियो । यसअघि पनि गाउँलेका १० वटा बाख्रा बाघले मारेको थियो । सो सामुदायिक वननजिक बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पर्छ । रासस