• १४ माघ २०८१, सोमबार

भाडाकै घरमा पालिका कार्यालय

blog

तम्घास समाचारदाता

तम्घास, माघ १४ गते । स्थानीय सरकार गठन भएको करिब आठ वर्ष पुग्न लाग्दा पनि गुल्मीका तीन स्थानीय तहले अझै पनि भाडाकै घरबाट सेवा प्रवाह गरिरहेका छन् । प्रशासनिक भवन नहुँदा उनीहरूले भाडामै रकम खर्चिने गरेका हुन् । जिल्लाको गुल्मीदरबार, कालीगण्डकी र चन्द्रकोट गाउँपालिकाले हालसम्म पनि भाडाकै घरबाट सेवा प्रवाह गरेका छन् । 

जिल्लाको चन्द्रकोट गाउँपालिकाले स्थापनाकालदेखि नै चन्द्रकोट क्याम्पसको भवनबाट सेवा प्रवाह गरिरहेको छ । गाउँपालिकाले अहिले मासिक ९७ हजार रुपियाँ क्याम्पसलाई भाडा बुझाउँदै आएको सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । गाउँपालिकाको प्रशासकीय भवन निर्माणाधीन अवस्थामा रहेको र एक वर्षभित्रमा सम्पन्न हुने उहाँले बताउनुभयो । 

गुल्मीदरबार गाउँपालिकाले तीन वटा भवनको मासिक ७४ हजार ९५१ रुपियाँ भाडा तिर्ने गरेको सूचना अधिकारी नवराज घिमिरेले जानकारी दिनुभयो । पालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढिरहेको उहाँको भनाइ छ । कालीगण्डकी गाउँपालिकाले दुई वटा भवन भाडामा लिएको छ । 

उसले मासिक ९० हजार रुपियाँ भाडा तिर्ने गरेको गाउँपालिकाका सूचना अधिकारी ओमबहादुर थापाले जानकारी दिनुभयो । पालिकाको प्रशासकीय भवन निर्माणका लागि केही जग्गा अपुग भएको र बाँकी जग्गा किन्ने प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।