• १४ माघ २०८१, सोमबार

गाउँमा आयातीत पेय पदार्थ प्रतिबन्ध, प्रयोग गरेमा जरिवाना

blog

आयातीत पेय पदार्थ प्रतिबन्ध लगाइएको पाथेका गाउँ।

राजकुमार भट्टराई

खोटाङ, माघ १३ गते। खोटाङको पाथेकाको एउटा सिङ्गो गाउँले ड्यु, पेप्सी, कोक जस्ता आयातीत पेय पदार्थ प्रयोग नगर्ने निर्णय गरेको छ। स्वास्थ्यलाई असर गर्ने र फजुलखर्च हुने भएकाले ड्यु, पेप्सी, कोक जस्ता पेय पदार्थ गाउँमा हुने शुभअशुभ सबै कार्यमा प्रयोग नगर्ने निर्णय गरेको हो। 

जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाको साविक ३ नम्बर वडा टोल विकास समितिको माघ १२ गते भएको निर्णय अनुसार आगामी दिनमा गाउँमा हुने शुभकार्य वा अशुभकार्य सबैमा ड्यु, पेप्सी, कोक जस्ता पेय पदार्थप्रयोग गर्न पाइने छैन्। टोल विकास समितिले गरेको निर्णय उल्लङ्घन गरेमा पहिलो पटक  ५ हजार, दोस्रो पटक ७ हजार र तेस्रो पटक १० हजार जरिवाना तिर्ने निर्णयसमेत गरिएको टोल विकास समितिका अध्यक्ष सर्वधन राईले बताउनुभयो।  

गाउँमा हुने बिहे, पास्नी, छेवर, मरौपरौ जस्ता सामाजिक कार्यमा बहुराष्ट्रिय तथा राष्ट्रिय कम्पनीका पेय पदार्थलाई प्रयोग नगर्ने निर्णय गरिएको उहाँको भनाइ छ। टोल विकास समिति एवं साविक तीन नम्बर वडामा ४० घर रहेका छन्। उक्त ४० घर नै साम्पाङ राईको रहेको छ। सबै घरका सदस्य उपस्थित भएर पेय पदार्थ बन्द गर्ने निर्णय गरिएको अध्यक्ष राईले बताउनुभयो।

हाल ड्यु, पेप्सी, कोक गाउँमा प्रतिबन्ध गरिएको छ। अब विस्तारै अन्य बियर, रम जस्ता आयातीत पेय पदार्थ र जंफुट पनि प्रतिबन्ध गर्ने योजना बनाइएको टोल विकास समितिका अध्यक्ष राईले बताउनुभयो। ड्यु, पेप्सी, कोकको सट्टा हाललाई चिया, दुध दही प्रयोग गरिने उहाँको भनाइ छ। सम्भव भएसम्म गाउँमै स्थानीय फलफुलको जुस उत्पादन गरेर प्रयोग गर्ने योजना रहेको अध्यक्ष राईले बताउनुभयो। 

अहिले गाउँमा हुने हरेक कार्जेमा ड्यु, पेप्सी, कोक अनिवार्य जस्तै भएका छन्। जसकारण समान्य कार्जे गर्दा पनि २० हजार बढी ड्यु कोकमै खर्च हुने गरेको छ। उक्त फजुल खर्च रोक्न यस्तो निर्णय गरिएको टोल विकास समितिका सल्लाहकार ओमकार राईले बताउनुभयो। 

खोटाङकै बुइपाका पाँच गाउँले पनि आयातीत पेय पदार्थ यस अघिनै रोक्ने निर्णय गरिसेकेका छन्। बुइपाको गैरीफुलेली, टारी, खुसुङ्खा, उर्लेनी र छापगाउँले आयातीत पेय पदार्थमा रोक लगाएका हुन्।