बुलबुले समाचारदाता
सुर्खेत, माघ १३ गते । कर्णाली प्रदेश सरकारले पर्यटन प्रवर्धन गर्न पूर्वाधार निर्माणमा जोड दिएको छ । बजेटको स्रोत सुनिश्चित गरेर पूर्वाधार निर्माणका काम अघि बढाएको हो । अघिल्ला आर्थिक वर्षमा बजेटको स्रोत सुनिश्चित नगरेर पूर्वाधार निर्माणका काम सुरु गर्दा योजना अलपत्र पर्ने गरेका थिए ।
चालु आवमा पुँजीगत खर्च बढाउन र पूर्वाधार निर्माण गरेर पर्यटन प्रवर्धन गर्न सरकारले चासो देखाएको छ । बजेट कार्यान्वयन गर्न रणनीति योजना निर्माण गरिएको प्रदेश सरकारले जनाएको छ । विकास बजेट खर्च कार्यान्वयनलाई गतिशील बनाउन रणनीति योजना निर्माण गएिको मुख्यमन्त्री यामलाल कँडेलले बताउनुभयो । उहाँका अनुसार आवश्यकता र औचित्यका आधारमा बजेटको स्रोत सुनिश्चित गरेर पूर्वाधार निर्माण थालिएको छ । सरकार फेरबदल भइरहे पनि योजना कार्यान्वयन निरन्तर भइरहने नीति अनुरूप बजेट कार्यान्वयनका लागि रणनीतिक योजना बनाइएको प्रदेश सरकारले जनाएको छ । सोही रणनीति योजना अनुरूप काम भइरहेको हो ।
पर्यटकीय स्थल रारासम्म पुग्ने सडक निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरिएको छ । ताल्चादेखि रारासम्म सडक कालोपत्रेका लागि बजेटको स्रोत सुनिश्चित गरिएको प्रदेश सरकारले जनाएको छ । पर्यटन प्रवर्धन गर्नका लागि सरकारले सडक निर्माण गर्न लागेको छ । सडक निर्माणका लागि बजेटको स्रोत सुनिश्चित भई टेन्डर आह्वान गर्न लागिएको पूर्वाधार विकास कार्यालय मुगुले जनाएको छ । करिब सात किलोमिटर सडक निर्माणका लागि नौ करोड ८७ लाख बजेटको स्रोत सुनिश्चित भएको कार्यालय प्रमुख केशव बस्नेतले बताउनुभयो ।
उहाँका अनुसार सडक निर्माणका लागि यसअघि नै डिपिआर बनिसकेको छ । बजेटको स्रोत सुनिश्चित भइसकेकाले अब टेन्डर आह्वान गरिने उहाँको भनाइ छ ।
यो वर्ष प्रदेश सरकारले पर्यटकीय स्थलको पहिचान, संरक्षण तथा पुनर्निर्माण गर्ने भएको छ । चालु आवको नीति तथा कार्यक्रममा समेटेर उक्त योजना ल्याएको हो । प्रदेशकै प्रमुख आकर्षक पर्यटकीय गन्तव्य स्थलसम्म पुग्न पूर्वाधार निर्माण गर्न लागिएको हो । पर्यटकीय स्थलको संरक्षण गर्ने उद्देश्यले मुगुको राराताल, सुर्खेतको काँक्रेविहार, बुलबुले उद्यान तथा चौघान पार्क र रुकुम पश्चिमको स्यार्पुतालको संरक्षण विकास गर्न लागिएको हो । उक्त कार्यक्रमका लागि प्रदेश सरकारले १४ करोड बजेट विनियोजन गरेको छ ।