सिराज खान
नेपालगन्ज, माघ १२ गते। बाँकेका ३५ हजार बढी किशोरीलाई माघ २२ गतेदेखि फागुन ६ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप दिइने भएको छ।
बाँकेका आठ स्थानीय तहका विद्यालयमा अध्ययनरत ३३ हजार ३७५ र विद्यालय बाहिर रहेका दुई हजार ८५० गरेर ३५ हजार ४४ जना किशोरीलाई एचपिभी खोप लगाउने स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो।
माघको २२ गतेदेखि फागुनको ६ गतेसम्म विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीलाई खोप लगाइने छ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले जिल्लामा दुई चरणमा खोप अभियान सम्पन्न हुने बताउनुभयो।पहिलो चरणमा माघ २२ गतेदेखि नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकामा सात दिनसम्म खोप अभियान सञ्चालन हुनेछ।दोस्रो चरणमा राप्तीसोनारी, डुडुवा, नरैनापुर र बैजनाथ गाउँपालिकामा माघ ३० गतेबाट अभियान सञ्चालन हुनेछ ।
खोप लगाउनका लागि अहिले जिल्लाका सबै पालिका तहका स्वास्थ्यकर्मीलाई तालिम दिने काम भइरहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहीले बताउनुभयो।