कपिल ज्ञवाली
सिद्धार्थनगर, माघ १२ गते । रूपन्देहीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप अभियान सञ्चालन हुने भएको छ । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ५८ हजार ८ सय ९८ किशोरीलाई ‘एचपीभी’ खोप लगाइने भएको हो ।
‘एचपिभी’ खोप अभियान माघ २२ देखि पहिलो चरणमा ८ वटा पालिकामा ३१ हजार ९ सय ५६ जना र दोस्रो चरणमा ८ पालिकाका २६ हजार ९ सय ४२ जना गरि ५८ हजार ८ सय ९८ किशोरीलाई ‘एचपीभी’ खोप लगाइने भएको हो ।
दोस्रो चरण फागुन १ गतेदेखि सञ्चालन हुने रुपन्देही स्वास्थ्य कार्यालयका प्रमुख चिन्तामणि ज्ञवालीले बताउनुभयो । एकपटकको अभियान ५ देखि ७ दिनसम्म चल्नेछ । खोप तयारीबारे जानकारी दिन बुटवलमा आयोजित कार्यक्रममा तयारी तिब्र पारिएको बताइएको छ । खोप अभियान अन्तर्गत विद्यालयमै पुगेर कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीलाई खोप लगाइदिने प्रमुख ज्ञवालीको भनाइ छ ।
विश्व स्वास्थ्य सङ्गठनले पाठेघरको क्यान्सर निको पार्न प्रभावकारी र सुरक्षित मानिएको एचपीभी खोप अभियानको क्रममा विद्यालय अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मका उमेरका किशोरीहरूलाई लगाउन लागिएको हो ।
विद्यालय बाहिरका १० देखि १४ वर्षमुनिका किशोरीलाई पनि खोप लगाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार खोप कार्यक्रम सञ्चालनका लागि पुस २५ देखि माघ ९ गतेसम्म जिल्लामा रहेका पालिका स्वास्थ्य संस्था प्रमुखहरूलाई अभिमुखीकरण तालिम सञ्चालन कार्य गरिरहेको छ। त्यसपछि शिक्षक, पालिकाका स्रोत व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, चिकित्सक, अन्य स्वास्थ्यकर्मीलाई समेत तालिम दिइने छ ।
डा.सागर तिवारीका पाठेघरको मुखका कोशिकाको असामान्य वा अस्वाभाविक वृद्धि हुनु पाठेघरको मुखको क्यान्सर हो । यो ‘ह्युमन प्यापिलोमा’ भाइरसको संक्रमणका कारण हुने गरेको र मृत्यु दर बढि रहेको उहाँले बताउनुभयो ।
जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चपाइले खोप अभियानबारे जनजनमा पहिले नै चेतना जगाउन आवश्यक रहेको बताउनुभयो ।