• ११ वैशाख २०८२, बिहिबार

हिमपात र शीतलहर : प्रभावकारी व्यवस्थापन गर्न प्राधिकरणको निर्देशन

blog

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. भीष्मकुमार भुसाल ।

काठमाडौं, माघ १२ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमपात र शीतलहरबाट जोगिन सावधानी अपनाउन आग्रह गरेको छ । केही दिन यता तराईका जिल्लाहरूमा भइरहेको शीतलहर र हिमाली जिल्लाहरूमा भइरहेको अत्याधिक हिमपातबाट जोगिन विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. भीष्मकुमार भुसालले विगत केही दिनदेखि तराईका जिल्लाहरुमा शीतलहर र हिमाली जिल्लाहरूमा हिमपातका कारण जनजीवन प्रभावित भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘विगत केही दिनदेखि तराईका जिल्लाहरूमा शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । तराईका जिल्लाहरू मात्रै नभएर हिमाली जिल्लाहरूमा भारी हिमपात पनि कतिपय ठाउँमा भएका कारणले गर्दा चिसोबाट प्रभावित हुने जनसङ्ख्या उल्लेख्य रूपमा छ । यस बारेमा प्राधिकरणले सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूलाई प्रत्येक वर्ष गृह मन्त्रालयबाट जसरी निर्देशन जान्छ, त्यसरी नै यो शीतलहर र हिमपातका लागि तयारी अवस्थामा रहन र पूर्वतयारीका क्रियाकलापहरू गर्नका लागि परिपत्र जारी गर्ने गरेको छ ।’’

प्रमुख डा. भुसालले हिमपात र शीतलहरका कारण चिसोबाट प्रभावित हुने जनसङ्ख्या उल्लेख्य रहेको जानकारी दिनुभयो । उहाँले चिसोबाट नागरिकहरूलाई बचाउन प्राधिकरणले सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई प्रभावकारी व्यवस्थापन गर्न निर्देशन दिएको बताउनुभयो । शीतलहर र हिमपातका लागि तयारी अवस्थामा रहन र पूर्वतयारीका क्रियाकलापहरू गर्नका लागि परिपत्र जारी गरिसकेको जानकारी दिनुभयो ।

न्युज एजेन्सी नेपालसँगको कुरा गर्नुहुँदै उहाँले यसअघि नै प्राधिकरणले कार्ययोजना बनाएर सबै जिल्लाहरूमा परिपत्र गरिसकेको बताउनुभयो । महिला, बालबालिका, सीमान्तकृत सङ्कटापन्न समुदायका लागि न्यायो कपडा र दाउराको व्यवस्था गर्ने लगायतका कामहरू भइरहेको औंल्याउनुभयो ।

प्रमुख डा. भुसालले भन्नुभयो, ‘‘यसको कार्ययोजना पनि जारी गर्ने गरेको छ । प्राधिकरणले पनि त्यसैगरी यस वर्ष शीतलहरका कारण जनजीवन प्रभावित हुनसक्ने अवस्थालाई मध्यनजर गरेर कार्ययोजना सबै जसो जिल्ला प्रशासन कार्यालयहरूमा पठाइसकेको छ । जल तथा मौसम विज्ञान विभागले जुन बुलेटिनहरू जारी गर्दछ र शीतलहरको सम्भावनाका कुराहरु गर्दछ, त्यससम्बन्धी जानकारीलाई जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति, पालिका लगायतले ध्यानमा राखेर आफ्नो समुदायका खासगरी शीतलहरबाट अध्याधिक चिसोबाट प्रभावित हुनसक्ने जनसङ्ख्यालाई कसरी बचाउने, उहाँहरूलाई कसरी न्यायो अवस्थामा राख्ने, शीतलहरका कारण जुन बाक्लो हुस्सु फैलिएको हुन्छ, त्यसका कारण हुनसक्ने सडक दुर्घटनाहरूलाई कसरी न्यूनीकरण गर्ने ? लगायतका कुराहरूमा स्थानीय स्तरमा उहाँहरूले आफ्नै कार्ययोजना तयार गरेर पूर्वतयारीको अवस्थामा बस्नुपर्ने हुन्छ ।’’

विगत केही दिनदेखि कोशी, मधेश र वागमती प्रदेशका तराई क्षेत्रमा दिनभर हुस्सु÷कुहिरो लागेको छ । मधेश प्रदेशको पूर्वी भूभाग (सप्तरी) र कोशी प्रदेशको तराई भूभाग (झापा, मोरङ र सुनसरी) मा मन्द शीतलहरको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मधेश प्रदेशको पूर्वी भूभाग र कोशी प्रदेशको तराई भूभागमा केही दिन अझै शीतलहर रहने बताएको छ । शीतलहरका कारण स्वास्थ्य, यातायात, शिक्षा, कृषि तथा मानिसहरूको दैनिक जीवनमा असर पर्नसक्ने भन्दै आवश्यक शतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।